567 views 4 secs 0 comments

१३ मंसिरमा त्रिशूली बस दुर्घटनामा बेपत्ता ३ को शव भेटियो

In समाज
२६ मंसिर २०७४, मंगलवार १५:५१

मंसिर २६, २०७४ चितवन : यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन्। प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क-९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैँडाकोट नगरपालिका-३ का विकास रेग्मीको शव फेला परेको हो। कार्की र थापाको शव घटनास्थलबाट केही तल तथा रेग्मीको शव मुग्लिनबाट नारायणगढतर्फ कालीखोला किनारमा फेला परेको हो। सो घटनामा ७ जना बेपत्ता भनिएकामा यसअघि सनाखत गरिएको भनिएका अमरबहादुर शाही नभई नवराज बञ्जाडे रहेको प्रहरीले जनाएको छ। परिवारको निवेदनका आधारमा प्रहरीले बञ्जाडेसहित ७ जना बेपत्ता भन्दै आएको थियो। बञ्जाडेका साथमा शाहीको परिचयपत्र भेटिएपछि सोही आधारमा सनाखत भनिए पनि सनाखत भएका व्यक्ति शाही नभएर बञ्जाडे भएको प्रहरीले जनाएको छ। शाही काठमाडौंमै सकुशल रहेको प्रनाउ ढकालले बताए। उनका अनुसार परिवारको निवेदनका आधारमा अझै बेपत्ता भएकामा गैँडाकोट ३ की कोपिला पोखरेल, अर्घाखाँचीकी हुमकला राहु मगर र अर्घाखाँची रौनामैनाका शंकर कुँवर छन्। बेपत्ता भएका अन्यको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीले जानकारी दिए। सो घटनामा मृतकको संख्या १० पुगेको छ। घटनामा २२ जना घाइते भएका थिए। लु २ख२९१ नं को उक्त बस काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नं को ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूलीमा खसेको थियो। यसैबीच, मंगलबारै अर्का एक पुरुषको शव पनि फेलापरेको छ। उनी कुन दुर्घटनामा परेका हुन् भन्ने खुलेको छैन।
Read more at: http://thahakhabar.com/news/28109