703 views 0 secs 0 comments

गाउँ फर्किए मतदाता, बजार सुनसान : पूर्वमन्त्री र सांसद पनि मतदान गर्न गाउँमा

In देश, राजनीति, समाज
२० मंसिर २०७४, बुधबार १२:२२

तेह्रथुम, मंसिर २०– बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदान गर्नका लागि रोजगारी, अध्ययन, व्यवसाय लगायत कामले बजार क्षेत्रमा बसोबास गर्ने नागरिक गाउँ फर्किएका छन् । जिल्लाका विभिन्न बजारहरुमा बसोबास गर्नेदेखि पूर्वका विभिन्न ठाउँ, बजार र राजधानी बस्ने समेत मतदान गर्नका लागि गाउँ फर्किएका छन् ।

व्यवसाय गर्ने, पढ्ने र कर्मचारी समेत चुनावका लागि गाउँ पसेपछि जिल्लाका म्याङलुङ, जिरीखिम्ती, बसन्तपुर लगायत बजारहरु समेत सुनसान बनेका छन् । दलका नेताहरु समेत बजार केन्द्रीत छैनन् । कोही मतदान गर्न, त कोही मतदातालाई प्रभावित पार्न गाउँमै व्यस्त छन् । मौन अवधिमा पनि नेताहरुले मतदाताको घरदैलो कार्यक्रम भने छाडेका छैनन् ।

जिल्लाका ८९ वटै मतदान केन्द्रमा कर्मचारी पुगेर मतदानको लागि व्यवस्थापन गर्न व्यस्त रहेका छन् । बुधबार बेलुकासम्म मतदान केन्द्र छेकबार लगायत काम सकिने जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताउनुभयो । सबै मतदान केन्द्रबाट मतदाताहरुलाई परिचय पत्र वितरण गर्ने काम पनि भइरहेको छ । बुधबार बेलुकासम्म धेरैलाई परिचय पत्र दिइने र बाँकी रहकाले नागरिकता लिएर पनि मतदान गर्न पाउने भनिएको छ ।

६ स्थानीय तह रहेको जिल्लामा ६६ हजार ६ सय ६७ जना मतदाता छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेश र प्रतिनिधिसभामा जम्मा ११ राजनीतिक दलका २८ जनाको उम्मेदवारी रहेको छ ।

सांसददेखि पूर्वमन्त्री पनि मतदान गर्न गाउँमा

जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता, सांसद, पूर्वसांसद र पूर्वमन्त्री समेत गाउँ गाउँमा पुगेका छन् । चुनावमा उम्मेदवार बनेका नेता आफ्नो पक्षमा मतदान गर्न मतदाता रिझाउँदै गाउँमा व्यस्त छ । कोही नेता कार्यकर्ता आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन गाउँमै क्रियाशील बनेका छन् ।

जिल्लाकै अभिभावक नेताको रुपमा रहेका कांग्रेस नेता तेजमान तुम्बाहाम्फे म्याङलुङबाटै मतदान गर्नुहुनेछ । यस्तै पूर्व राज्यमन्त्री, पूर्वसांसद तथा कांग्रेस नेता तुलसी सुब्बाले सिंहबाहिनी मावि मतदान केन्द्रबाट मतदान गर्नुहुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तेह्रथुमबाट प्रतिनिधिसभाकी उम्मेदवार तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङ जिल्लाको आठराई गाउँपालिका–४, इवा मतदान केन्द्रबाट मतदान गर्नु हुँदैछ । एमाले नेता, पूर्वसांसद तथा प्रतिनिधिसभामा एमालेबाट समानुपातिक उम्मेदवार डा. विजय सुब्बा म्याङलुङकै आरुबोटेबाट मतदान गर्ने तयारीमा हुनुहुन्छ ।

पूर्वमन्त्री तथा नयाँ शक्ति नेपालका नेता पर्शुराम खापुङ र पूर्वसांसद एवम् वाम गठबन्धनका प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार भवानी प्रसाद खापुङले मेन्छ्यायेम गाउँपालिकाको गौखुरी मतदान केन्द्रबाट मतदान गर्नु हुँदैछ । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दुर्गाप्रसाद चापागाइ र सुशीला कन्दङवाले छातेढुंगाबाट मतदान गर्न गाउँ पुग्नुभएको छ ।