
कमल भुसाल
असोज १५ , काठमाण्डौं । अविरल वर्षाका कारण मुलुकका विभिन्न भूभागमा ठूलो जनधनको क्षति भएको छ। यस प्राकृतिक विपत्तिले थुप्रै घर, सम्पत्ति र जनजीवनमा गहिरो चोट पुर्याएको छ। जनधनको अपूरणीय क्षति भएकोले सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गर्दै, सम्पूर्ण राष्ट्रलाई शोकको वातावरणमा समाहित हुन आह्वान गरेको छ।
सरकारको यो शोक घोषणालाई ध्यानमा राख्दै जनप्रतिनिधि, नेताहरू र सर्वसाधारण नागरिकहरूले पनि दुखका साथै क्षतिप्रति सहानुभूति प्रकट गर्नुपर्ने हो। तर, दुःखद कुरा के छ भने, राष्ट्रिय शोकको समयमा बाँके कोहलपुरका जनप्रतिनिधिहरू आफ्नो जिम्मेवारी र मानवताको सिमानालाई तोड्दै आनन्दमयी भोजमा सहभागी भएका छन्।
कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरू यो संवेदनशील समयमा राष्ट्रिय शोकलाई बेवास्ता गर्दै एक वडाभोजमा व्यस्त रहेको देखिएकोछ । एपिएफ स्कुलले आयोजना गरेको भोज कार्यक्रममा कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरूले रमाउँदै सामाजिक सञ्जालमा आफ्ना तस्बिरहरू समेत पोष्ट गरेको देखियो।
विशेषगरी, कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी ,वडा नं. २ का वडा अध्यक्ष हरी कठायतसहितका अन्य जनप्रतिनिधिहरू भोजमा रमाएको देखिन्छ। जुन कार्य राष्ट्रिय शोकको वातावरणमा एकदमै अनुपयुक्त छ।
जनप्रतिनिधिहरूले राष्ट्रिय विपत्तिको समयमा समवेदना प्रकट गर्नु, नागरिकको पीडामा सहभागी हुनु र सहयोगका लागि अग्रसर हुनु तिनको प्रमुख जिम्मेवारी हो। तर, कोहलपुरका यी जनप्रतिनिधिहरूले शोकको घडीमा भोज र रमाइलोमा सहभागी भई आफ्नो जिम्मेवारीप्रति गम्भीरता नदेखाएको कुराले जनतामा आक्रोश उत्पन्न गरेको छ।
राष्ट्रिय शोकको समयमा यस्तो गतिविधिमा सहभागी भएर जनप्रतिनिधिहरूले आफूलाई विवादमा तानेकाछन । जनताले शोक मनाइरहँदा उनीहरू भोजमा रमाएको यो घटनाले नेताहरूको जिम्मेवारीप्रति उदासीनता र नैतिकताको कमी प्रकट गरेको छ।
तस्विर श्रोत : सामाजिक सन्जाल