654 views 0 secs 0 comments

के-के गर्न पाइँदैन मौन अवधिमा ?

In देश, समाज, स्वास्थ्य/जीवनशैली
१९ मंसिर २०७४, मंगलवार १२:४२

काठमाण्डौ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि दोश्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा गएराति १२ बजेपछि प्रसार प्रसार गर्ने समय सकिएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएपछि उम्मेद्वारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न/गराउन निषेध गरिएको जनाएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार,
– मौनअवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका चुनावी प्रचारप्रसार गर्न तथा प्रचारप्रसारमा संलग्न हुन पाइने छैन ।

– आमसञ्चार माध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशन÷प्रसारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण गर्न पाउने छैनन् ।

– आयोगबाट जारी भएका मतदाता शिक्षाका सामग्री, सूचना वा सन्देश प्रवाह गर्न भने कुनै रोकावट हुँदैन ।

– मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौनअवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामग्री हटाउनुपर्छ ।

– एसएमएस, फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन ।

– मौनअवधिमा उम्मेदवार वा दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।

– उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता साङ्केतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन पाइँदैन ।

– मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको छ ।