583 views 0 secs 0 comments

निर्वाचन आयोगको चेतावनी, ‘मौन अवधि उल्लंघन गरे उम्मेदवारीसमेत रद्द हुने

In देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १२:४४

काठमाडौं । मंसिर २१ गते प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणअन्तर्गतको निर्वाचन हुँदैछ। निर्वाचन आचारसंहिता अनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ ।

यस मौन अवधिभर चुनावी प्रचारप्रसार गरेको पाइएमा उम्मेद्वारको उम्मेद्वारी रद्दसम्मको कारबाही हुने निर्वाचन आयोगले चेतावनी दिएको छ । दोस्रो चरणमा ४५ जिल्लामा बिहीबार मतदान हुँदैछ।

मौन अवधि उल्लंघन गर्ने सञ्चारमाध्यम र अन्यलाई भने एक लाखसम्म जरीवाना हुनेसमेत आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

मौन अवधि पालना गर्नु सबैको नैतिक दायित्व भएको भन्दै उनले थपे, ‘सबैले आचारसंहिता पालना गर्नैपर्छ । अनुगमन वा आयोगमा उजुरी उल्लंघनको उजुरी परेको खण्डमा कडा कारबाही हुन्छ।’ आयोगले सञ्चारमाध्यमको पनि अनुगमन गरिरहेको बताईएको छ।

केके गर्ने पाइँदैन मौन अवधिमा ?

  • सामाजिक सञ्जाल ९एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम मार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न हुँदैन
  • उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन
  • निर्वाचन आचारसंहिताको मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन
  • मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्छ