572 views 0 secs 0 comments

उम्मेदवारको ‘निद्रा हराम’

In देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १२:४५

बागलुङ / रास– चुनावी अभियानमा थाकेका उम्मेदवारले मतदान सकिएपछि पनि चैनसँग आराम गर्न पाएका छैनन् । मतदान सम्पन्न भएलगत्तै मतगणना नहुँदा उम्मेदवार, कार्यकर्ता तथा मतदाताहरूमा मत परिणामप्रति चासो बढ्दै गएको छ ।

दोस्रो चरणको चुनाव २१ मंसिरमा सम्पन्न भएपश्चात् मात्र मतगणना हुने भएपछि प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरूलाई मतदानअघिका दिनभन्दा बाँकी ११ दिन निकै कष्टकर भएको छ ।

मत सुरक्षाको विषयले समयसमयमा झस्काउने गरेको बताउँदै बागलुङ क्षेत्र नम्बरका १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सूर्य पाठकले भने, ‘साधारण मतदाताले समेत मतको सुरक्षामा ध्यान दिनु भनेर फोन गर्दा निद्रा नै हराम भएको छ ।’ प्रशासनले कडा सुरक्षा निगरानीमा मतपेटिका सुरक्षित राखे पनि मतपेटिकाको सुरक्षामा राजनीतिक दलहरू सन्तुष्ट हुन नसकेको उनले बताए ।

मतको सुरक्षामा ध्यान दिन मतदाताले आग्रह गरेको बताउँदै बागलुङ क्षेत्र नम्बर १ की उम्मेदवार चम्फादेवी खडकाले भनिन्, ‘ढिलो मतगणना हुँदा मनमा अनेक खालको आशंका उब्जने गरेको छ ।’ जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले मत गणना हुनुपहिलै नै आफ्नो पक्षको मत यति र उति हुन्छ भनेर मतदातालाई मतदातालाई सम्झाउने प्रयास गरिरहेका छन् । जिल्लाका सबै मतपेटिका जिल्ला समन्वय समिति बागलुङको कार्यालयमा तीन सुरक्षा घेरा र पार्टी कार्यकर्ताको निगरानीमा राखिएको छ ।

चार नगरपालिका र ६ गाउँपालिका रहेको बागलुङमा कुल मतदाता १ लाख ६७ हजार २ सय ८२ मतदातामध्ये ६५ दशमलव ७ प्रतिशत अर्थात् १ लाख ३ हजार ७ सय ८१ मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार बागलुङ क्षेत्र नम्बर १ मा ८६ हजार ७ सय ५६ मतदाता संख्यामध्ये ५६ हजार ४ सय ७३ मत खसेको छ । त्यस्तै क्षेत्र नम्बर २ मा कुल ८० हजार ५ सय ५६ मतदाता संख्यामध्ये ५३ हजार ७ सय ५६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।