16 views 0 secs 0 comments

उजाड बस्तीमा त्रिपालका टहरा

In देश, समाज
१६ मंसिर २०८०, शनिबार १०:३३

रुकुम पश्चिम । कार्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको पनि एक महिना पुगेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार भूकम्पले जाजरकोट र रुकुम पश्चिमका मात्रै करिब ६० हजारभन्दा बढी परिवारलाई घरबार विहीन बनाइदियो ।

यतिबेला बस्तीहरू उजाड अवस्थामा छन् भने उजाड बस्तीका बिचबिचमा त्रिपालमुनि नागरिकहरूले कष्टकर दैनिकी गुजारिहरेका छन् । दिनानुदिन बढिरहेको चिसोले पालमुनिको बसाइ निकै कष्टकर बनिरहेको छ, भूकम्प पीडितको ।

त्रिपालमा बसेकाहरूलाई चिसो छेक्नका लागि न्याना कपडाहरू छैनन् । विशेषगरि बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई त्रिपालको बसाइ थप कठिन छ । जाजरकोट सदरमुकाम खलङ्गादेखि भेरी नदी वारिपारि रुकुम पश्चिमको आठबिसकोटको राडी बजारसम्म त्यस्ता दर्जनौँ बस्तीहरू छन्, जो उजाड बनेका छन् ।

विभिन्न राजनीतिक दलहरूले घरहरुका  भग्नावशेषलाई पन्छाउने काम गरिरहेका छन् । ठाउँ–ठाउँमा स्वयंसेवकहरू अस्थायी आवास निर्माण गरिरहेका भेटिन्छन् । भेरी नगरपालिका–१, रावतगाउँ भूकम्पले बढी क्षति पुर्‍याएको ठाउँ हो । त्यहाँ राजनीतिक दलका स्वयंसेवकले घरहरू पन्छाइदिएका छन् । यद्यपि अस्थायी आवास भने निर्माण भएको खासै देखिएन ।