
१६ मंसिर, काठमाडौं ।
काठमाडौंमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ ।
कूल ३९ देशका ३४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौं आइसकेका छन् । कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने १५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन् । कार्यक्रमले नेपालको मौलिक पहिचान विश्वसामु पुर्याउन सहयोग पुग्ने कार्यक्रम संयोजक एनवी गुरुङले जानकारी दिए।
अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा हुन लागेको कला महोत्सव मंसिर २० गतेसम्म चल्नेछ । उद्घाटनपछि नेपाल कला परिषद् बबरमहलमा विदेशी कलाकारको सहभागितामा कला डेमोस्ट्रेसन हुने र त्यसबाट सिकाइ आदानप्रदान हुने समाजका अध्यक्ष एवं महोत्सव संयोजक गुरुङले बताए ।