16 views 0 secs 0 comments

रास्वपामा असन्तुष्ट छन्, बोल्न सक्दैनन्

In देश, समाज
२१ मंसिर २०८०, बिहीबार १७:५४

२१ मंसिर, काठमाडौं ।

महोत्तरीको जलेश्वरमा सम्पन्न पार्टी बैठक सञ्चालन प्रक्रिया र निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सार्वजनिक रूपमै असन्तुष्टि जनाइन् । केन्द्रीय सदस्य, सांसद र प्रदेश सभापतिहरूको संयुक्त बैठकपछि कार्कीले लेखेकी थिइन्, ‘विधिको शासन ?’

एक केन्द्रीय सदस्यका अनुसार, कार्कीले बैठक सञ्चालन प्रक्रिया र निर्णयप्रति असन्तुष्टि जनाएरै त्यस्तो फेसबुक स्टाटस लेखेकी हुन् । विशेषगरी पदाधिकारी थप्ने पार्टी सभापति रवि लामिछानेको प्रस्ताव बैठकबाट अनुमोदन भएपछि सांसद कार्की असन्तुष्ट देखिएको ती केन्द्रीय सदस्य बताउँछन् ।

गत १३ मंसिरमा सम्पन्न उक्त बैठकले पदाधिकारी संख्या बढाएर १५ पुर्‍याएको छ भने १२ जनाको सचिवालय गठन भएको छ । तर जम्बो पदाधिकारी बनाउँदा पनि कार्की सहित शिशिर खनाल, सोविता गौतम, गणेश पराजुली लगायत अटेनन्। स्रोतका अनुसार, सह–महामन्त्रीमा एक जना महिला ल्याउँदा संस्थापक केन्द्रीय सदस्य सुमना श्रेष्ठ चयन हुनु स्वाभाविक थियो । संसद्मा उनको प्रस्तुतिले रास्वपाप्रति बढेको गरिमाकै कारण कसैले आपत्ति जनाउने अवस्था पार्टीभित्र छैन ।

ठूलै राष्ट्रिय सन्देश दिएर पार्टी प्रवेश गरी उपनिर्वाचनबाट सांसद जितेका डा. स्वर्णिम वाग्लेलाई उपसभापति मनोनीत गर्ने प्रस्तावमा पनि असहमति थिएन । तर बाँकी पदाधिकारी प्रस्तावले रास्वपाभित्र असन्तुष्टि मात्रै देखिएको छैन, सभापति लामिछानेप्रति आशंका समेत जन्मिएको छ ।