मंसिर ७, २०७४-बहुदलीय प्रजातन्त्र पुन:स्थापनापछि छैटौं आम निर्वाचन हुँदै छ । प्रत्येक चुनावमा केही उम्मेदवार भने दोहोरिइरहेका छन् । संसदीय होस् या संविधानसभा निर्वाचन, हरेक पटक सहभागी भएका नेताहरू नै राज्य पुन:संरचनापछिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि प्रतिस्पर्धा गर्दैछन् । लगातार चुनाव लडेका कतिपय नेताको यो यात्रा अपराजित छ । केहीले जित्दै, बीचमा पराजित हुँदै फेरि विजय हासिल गरेका छन् । यीमध्ये कतिपयले पहिलेकै क्षेत्र रोजेका छन् । केही भने क्षेत्र परिवर्तन गरी चुनावी मैदानमा छन् ।
मुख्य दलहरू कांग्रेस र एमालेका शीर्ष तहका केही नेताको यसपालिको प्रतिस्पर्धा छैटौंपटकको भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक छैटौं प्रतिस्पर्धामा उत्रिएका छन् । २०४८ देखि उनले डडेलधुराबाट चुनाव जित्दै आएका छन् । उनको क्षेत्रमा अन्य नेताले अहिलेसम्म अवसर पाएका छैनन् । त्यस्तै कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि छैटौं चुनावमा प्रतिस्पर्धा गर्दैछन् । २०४८ देखि नै निरन्तर विजयी बन्दै आएका पौडेलको क्षेत्रमा पनि नयाँ अनुहार भित्रन पाएका छैनन् । २०४८ मा तनहुँ १ बाट चुनाव लडेका पौडेल त्यसपछि क्षेत्र २ मा गए । हाल तनहुँमा क्षेत्र घटेपछि पौडेल पुन: क्षेत्र १ मा प्रतिस्पर्धा गर्दैछन् ।