628 views 0 secs 0 comments

एक मतदाताले भने, ‘भोट हाल्नु भनेको भगवान् मानेजस्तै हो’

In देश, शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १३:४३

शान्ति खितिति हाँस्दै आइन्। उनी हाँसेको देखेर कुरै नबुझि म पनि हाँसिदिएँ।

चण्डोल हुँदै बालुवाटार आउने भित्री सडक शान्त थियो। हाम्रो हाँसोले खलबलियो।

‘थाहा छ?’ शान्तिले भनिन्, ‘एकजना बाजे भेटिएका थिए……,’

उनले हाँसो थाम्नै सकिनन्। कुरा पुरा हुनै पाएन। हाँसो केहि बेर थामिएपछि उनले बाँजेसँगको संवाद सुनाईन्।

‘बाजे, तपाईँ यहीँको लोकल हो?’

बाजे: हैन म बोइलर हो!

आइतबार चपलीबाट बालुवाटारसम्म हिँडेर मतदातासँग कुरा गर्दाको थकाई हामीले केहि बेर बिर्सियौँ। निकैबेर हाँस्यौँ।

प्रतिनिधिसभाको चुनाव मुखैमा छ।

केहि हप्तादेखि हामी चुनावी क्षेत्रमै पुगेर मतदातासँग कुरा गरिरहेका छौं। मतदाताको मनमा के छ, उनीहरुका लागि कुन् बिषय महत्वपूर्ण छन्, उनीहरु कसलाई मत दिन चाहान्छन्? हामीले मतदातासँग कुरा गर्ने विषय यीनै हुन्।

सडकमै भेटिएका, चियापसलमा गफिएका वा घरबाहिर बसेका मानिसहरुसँग भेटेर हामीले कुरा गरिरहेका छौं।

त्यसरी कुरा गर्दा ती मानिसहरु त्यो क्षेत्रका मतदाता हुन् वा हैनन् हामी पहिले त्यो जान्न चाहान्छौं।

शान्तिले पनि बाजे स्थानीय हुन् वा होइनन् बुझ्नका लागि ‘तपाई लोकल हो?’ भनेर सोधेकी थिइन्।

बाजेले त कम्तिमा ठट्यौली गरे। कति मतदाताले हामीलाई गाली पनि गरे।

‘कसलाई मत दिने भन्ने कुरा गोप्य हुन्छ नी, यस्तो कुरा पनि सोध्न मिल्छ?’ हामीलाई धेरै ठाँउमा मतदाताले प्रति प्रश्न सोधे।

मत गोप्य राख्न पाउने हक हुन्छ, कसलाई भोट दिन्छु भन्न पाउने अधिकार पनि हुन्छ। त्यसैले कति मानिसले म फलानो पार्टीलाई भोट दिन्छु भनेर खुल्लमखुल्ला भन्छन्। फलानोलाई भोट दिनुहोस् भनेर माग्छन्, हामीले धेरैलाई सम्झायौं।

यसरी मतदातासँग कुरा गर्दै हिँड्नु झन्झटिलो हुन्छ। कतिलाई कुरा गर्नै मन हुँदैन। कतिलाई फुर्सदै हुन्न।

तर मतदातासँग कुरा गरेपछि मात्र आम मानिसले के सोचिरहेका छन्, के मुद्दाले उनीहरुलाई छोएको छ, उनीहरु किन र कसरी कसलाई मत दिने वा नदिने भनेर निर्णयमा पुग्छन्, त्यसको केही जानकारी हुन्छ। त्यसले हाम्रो बुझाईलाई फराकिलो बनाउँछ। हामीलाई यथार्थ नजिक पुर्‍याउँछ।

कतिपय मतदाताले चुनावका बारेमा गफ गर्न नमाने पनि ख्याल ठट्टा भने गर्छन्।

काठमाडौँ क्षेत्र नम्बर ५, बुढानिलकण्ठमा त्यस्तै एक फरासिला मतदाता भेटिए।

शान्ति र म एउटा पिँढीमा उक्लियौँ। शान्ति गफिरहेका बुढापाका मानिस निर गइन्। म छेवैको एउटा पसलमा छिरेँ।

‘बुवा एकछिन कुरा गरम न है,’ शान्तिले सोधिन्।

एकजना बुढामान्छेले जवाफ दिइहाले,’नबोलौँ भो, फेरि लभ पर्ला !’ अनि उनी हाँसे। गफ गर्न भने राजी भए।

कसलाई मत दिने सोध्दा उनी सुरुमा खुलेर बोलेनन्।

‘तपाईँको घरमा एमालेको झण्डै गाड्या छ, अर्कोलाई मत दिने त होईन होला?’

उनी बल्ल बोल्न थाले। पहिले जितेका नेताले आफ्नो क्षेत्रमा केही विकास नगरेको गुनासो केहि बेर गरे।

धेरै मानिसको गुनासो नेताहरुले केही पनि गरेनन् भन्नेनै पायौँ हामीले। कतिले त भोट हाल्न पनि मन नलागेको सुनाए।

टोखा रोडमा भेटीएकी एक मतदाता नेताहरुसँग यति रुष्ट थिइन्, हामीले चुनावको कुरा निकाल्ने वित्तिकै राज्यको नीति, नियम, नेता सबैलाई गाली गरिन्। उनलाई घरबहाल कर बढाएकोमा रिस उठेको रहेछ।

‘घरको कर, छतको कर, भुँइको पनि करमात्र बढाउने? सुविधा भने केहि छैन। हामीले भोट हालेको त्यसैलाई हो?’ उनी जंगिइन्।

यसपाली भोटहाल्न नजाने निर्णय गरिसकेकी छन् उनले।

‘घाममा सुत्ने हो’ उनले भनिन्।

पासीकोटकी हरिमाया सामान्य चिया पसल चलाउँछिन्। उनको घर अघिको सडक कच्चि छ। केहि दिनअघि उनी बुढानिलकण्ठकै चुनिखेल गएकी रहिछन्। त्यतापट्टि बनेका चिल्ला सडक सम्झेर उनले त्यहाँका नेताको निकै प्रसंसा गरिन्।

‘त्यस्तो काम गरे पो चुनावमा भोट हाल्न पनि मन लाग्छ। हेर्नु न यहाँ यो बाटोको हालत! हाम्रो ठाउँको नेताले त केही गरेन। भोट माग्ने बेला सप्पै बनाइदिन्छौँ भन्छन् अनि कहाँ हो कहाँ,’ उनले भनिन् ‘अब त मलाई भोट दिन पनि मन छैन।’

हामीले काठमाडौं क्षेत्र नम्बर १, ५ र ६का धेरै मतदातालाई भेट्यौं। आजसम्म पाएका सुविधा वा भएका विकासकालागि राजनीति गर्नेहरुलाई संझिने मतदाता निकै कम भेटिए।

नेताहरुको काम गर्ने शैली मन नपराए पनि भोट हाल्ने आफ्नो हक र दायित्वप्रति भने बहुसंख्यक मतदाता सचेत थिए। चुनावलाई लिएर आक्रोश भन्दा बढी उत्साहनै भट्यौ हामीले।

शान्तिनगरमा भेटिएकी बुढी आमा निकै सुझबुझ राख्ने रहिछन्। उनका कुरा सुनेर आँफै दंग परे। बाटो छेउकै घरमा घाम तापेर बसेकी उनी र उनका छिमेकीहरुसँग कुरा गर्न म पनि उनीहरु बसेको छिँडिमा उक्लिएकी थिएँ।

यूवा उमेरका महिलाहरुलाई मैले चुनावबारे सोधे। उनीहरुले पुराना पार्टीहरुप्रति गुनासो सुनाए। भोटै हाल्न मन नलागेको बताए।

आमै बीचैमा उनीहरुलाई रोकेर सम्झाउन थालिन्।

‘भोट हाल्नुपर्छ भन्ने एउटा सिद्धान्त हो। मान्छे त्यो सिद्धान्तमा हुनुपर्छ। भगवानलाई मानेजस्तै त हो नि। भोटै हाल्दिन चैँ भन्नु हुन्न!’ अनि मतिर फर्केर भनिन्, ‘हैन त नानी?’

मैले उनलाई सोधिहालेँ, ‘ तपाईँलाई चैँ कसलाई भोट हाल्ने मन छ?’

‘मेरो त यहाँ हैन। दोलखा घर हो,’ उनले भनिन्।

‘दोलखा जानु भयो भने कसलाई भोट दिनुहुन्छ?’ मैले लत्तो छोडिनँ।

‘हुन त कुनैले केही ठूलै काम गर्ने हैनन्, नानी। तर दुई तिन वर्ष यता टिभ‍ीमा भाषण सुन्दा मलाई केपी ओलीले केहि गर्छ कि भन्ने लाग्याथ्यो। सरकारमा गएको थियो एकै छिन बस्न नपाइ झारिहाले।’

उनले सरकार टिक्ने हो भने मात्र उसले काम गर्न सक्ने बताईन्।

मतदातालाई सोध्दै हिँडेका हामीलाई नै कतिपयले उल्टो प्रश्न गर्थे, ‘तपाईँहरु कसलाई भोट दिनुहुन्छ नि? कतिपयले तपाईँहरु कसलाई मत माग्न आउनु भएको भनेर पनि सोधे। तपाईँ जसलाई भन्नु हुन्छ त्यसैलाई भोट दिन्छु भनेर अत्तो पनि थापे कतिले।

हात्तीगौँडामा भेटिएकी श्रेष्ठ थरकी एक महिलाले हामीलाई सोधिन्, ‘कसलाई भोट माग्नु आउनु भएको!’

‘कसैलाई हैन! कसलाई भोट दिनुहुन्छ भनेर सोध्नमात्र आएको!’

‘लौ न तपाईँ भन्दिनुस् कसलाई भोट दिने। दिन लायक को छ त्यस्तो मलाई थाहा पनि छैन। तपाईँले भन्यो भने त्यसैलाई भोट दिन्छु,’ उनले भनिन् ‘साँच्चै हो भन्या!’

कतिपय मानिसले पत्रकार भएकै कारणले हामीसँग कुरा गरेनन्। चुनदेवीबाट बालुवाटारतिर ओरालो झर्दै गर्दा मैले दुई जना अधवैँसे भेंटे।

उनीहरुसँग किन कुरा गर्न खोजेको बताएपछि एकजनाले सोधे, ‘कहाँबाट आउनु भएको रे?’

अर्काले भने, ‘पत्रिकाबाट सर्वे गर्न आउनु भएको जस्तो छ!’

‘म सेतोपाटी डटकममा काम गर्छु त्यसैमा लेख्नको लागि…!’

मेरो कुरा भुँइमा खस्न नपाउदै प्रश्न सोध्ने ति मानिस सुइँसुइँ अघिबढे। सँगै हिँडेका अर्का मानिस भने उभिएर एकैछिन बोले। हाँसेर विदा भए।

मैले सम्झेँ, मानिसका स्वभाव हजार। सँगै एउटै बाटो हिँडिरहेका मानिसपनि कति फरक!

यसरी फिल्डमा गएर रिपोर्टिङ्ग गर्दा मान्छेका अनेक स्वभावसँग साक्षात्कार हुन्छ। आफ्नो सहनशीलता व्यवसायीकताको पनि परीक्षण हुने रै’छ।

यो बीचमा मैले जनताको घरदैलोमा भोट माग्न पुगेका नेताहरु पनि देखेँ। आफ्नो आँगनमा आएका नेतालाई कतिले स्वागत गर्थे भने कतिले गुनासा पोख्थे। कतिले त गाली गरेको पनि देखेँ।

अघिपछि ठूलो मान्छे बनेर अरुलाई खासै महत्व नदिने नेताहरु पनि जनताको दैलोमा हात जोड्दै गएको देखेर रमाइलो लाग्यो। लोकतन्त्रमा कम्तिमा एक दिन भने नेता, मतदाता सबै बराबर हुन्छ भन्छन्, मतदानको दिन।

त्यो दिन प्रधानमन्त्री शेरबहादुर देउवाको पनि एक मत हो, डढेलधुराको कुनै दुर्गम गाँउका मतदाताको पनि एक मत हो।

तर चुनावको मुखमा भने नेता, मतदाता बराबर हैनन्।

मैले देखेँ— त्यो बेला नेता निरीह, मतदाता बलिया हुने रै’छन्।

काठमाडौं पाँच नम्बर क्षेत्रका महेश सिग्देलले आँफूसँग मत माग्दै आएका ठूला पार्टीका एक उमेद्वारलाई र्‍याख्र्‍याख्ती पार्दै भने, ‘तँपाई नेताहरुको पारा भएन। अहिले नमस्ते गर्दै भोट माग्न आउँने, पछि काम लिएर जाँदा चिन्दा पनि नचिन्ने। बोल्दा पनि नबोल्ने।’

अर्का मतदाताले छेवैमा बिग्रिएको बाटो देखाउँदै भने, ‘त्यो बिग्रिएको बाटो अहिले नै हेरेर जानुहोस् है, त्यो बनाउनु पर्दैन?’

मतदाताका प्रश्नले कायल भएका ति नेताले हात जोडेको जोड्यै भने, ‘हाम्रो गल्ति भयो। अब यो बाटो म बनाउँछु।यहाँको सबै म गर्छु।’

उमेद्वार बनेका एकजना नेताले भने, ‘टिकेट पाएको नेता र छोरीको विहे छिनेपछिको बाउ उस्तै निरीह हुन्छन्।’