531 views 1 sec 0 comments

उम्मेदवारका बाचा विश्वास गर्दैनन् मतदाता

In देश, समाज
१४ मंसिर २०७४, बिहीबार १२:२४

प्यूठान : विगतका निर्वाचनमा सार्वजनिक गरिएका चुनावी प्रतिवद्धता पूरा नभएकाले यसपटक पनि उम्मेदवारले गरेका वाचा पूरा होलान् भन्नेमा मतदाताहरू विश्वस्त छैनन्। आफूहरूलाई झुक्याउन विकासका आश्वासन बाड्ने गरिएको गुनासो मतदाता गर्छन्।

२०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका एमाले उपाध्यक्ष बामदेव गौतम र हिराबहादुर केसी चुनावी प्रचारका क्रममा लिखित प्रतिवद्धतासहित मतदातामाझ पुगेका थिए। ‘जिल्लाको मुहार फेर्ने’ योजनालाई विश्वास गरी जिल्लावासीले उनीहरूलाई जिताएर पठाए। तर, पाँच वर्षसम्म पनि बोलेका कुरा पूरा भएनन्।

गौतम यसपटक बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। जिल्लाबाट निर्वाचित भएपछि उनले बाँचुन्जेल प्यूठानबाटै चुनाव लड्ने र जिल्लावासीको सेवा गर्ने आश्वासन दिएका थिए।

‘बामदेवजस्तो केन्द्रीय नेताले त बोलेका कुरा पूरा नगरी फर्किनुभयो’,स्वर्गद्वारी नगरपालिका ८ बर्जिवाङकी कल्पना महतराले भनिन्, ‘सबै त्यस्तै हुन्, गर्छौँ मात्र भन्छन् तर काम गर्दैनन्।’ मतदाताहरूलाई ठूला आश्वासन दिएर भोट नमाग्न समेत उनले आग्रह गरिन्। ‘चाल्नेटार विमानस्थल बनाउछौँ भनेकै हुन्’, उनी भन्छिन्, ‘पाँच वर्ष बित्यो जस्ताको त्यस्तै छ।’ उनले यसपटक उम्मेदवारहरूले सार्वजनिक गरेका चुनावी प्रतिवद्धताहरूमा समेत विश्वास नरहेको प्रतिक्रिया दिइन्।

मतदातासँग मत माग्दै वाम गठबन्धनकी पौडेल।

आफूले गर्न सक्ने विकास योजनाहरू मात्र प्रतिवद्धतामा उल्लेख गर्नुपर्ने स्वर्गद्वारी नगरपालिका १ कोचिवाङका मेघराज जिसीको सुझाव छ। ‘लिखित रुपमा योजना सुनाउनु राम्रो पक्ष हो’, उनले भने, ‘सपना मात्र बाँढ्ने तर पूरा नगर्ने हुनु हुँदैन।’

स्थिर सकारबिना दिगो विकास हुन नसक्ने विचार राख्दै उनी त्यसका लागि जनताले साथ दिनुपर्ने बताउँछन्। ‘धेरै नेता जन्माएर पनि प्यूठान विकासमा पछाडि परेको छ’, उनी भन्छन्, ‘चुनाव तिजेपछि नेताहरूले जिल्लालाई भुल्नु हुँदैन।’

मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा रहेका दलहरुले लिखित रुपमै प्रतिवद्धता लिएर मतदाता माझ पुगेका छन्। तीन दल (एमाले, राजमो, माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले पाँच वर्ष भित्र गर्ने विकास योजनाहरू गाउँगाउँका मतदाताहरूलाई पुर्‍याएका छन्।

वाम गठबन्धनले २०७० सालको निर्वाचनमा अघि सारिएका अधिकांश पुरानै प्रतिवद्धताहरू सार्वजनिक गरेका छन्। चाल्नेटार विमानस्थल निर्माणको कार्य अघि बढाउने, झिमरुक नदी नियन्त्रण, स्वर्गद्वारीमा केवलकार निर्माण, नौमुरे जलविद्युत आयोजना, बाग्दुला–भिमगिठे सडक निर्माण, स्नातक तहसम्मको कृषि प्राविधिक शिक्षालयको स्थापना, स्वर्गद्वारी क्याम्पसलाई आंगिक क्याम्पस बनाउने, स्वर्गद्वारीको वृहत्तर विकास र गुरुयोजना निर्माण र शीत भण्डार निर्माण लगायत पुरानै विकास प्रतिबद्धताहरू अघि सारिएको छ। उक्त योजनाहरू निवर्तमान प्यूठान क्षेत्र नम्बर १ का सांसद् एवं पूर्व उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले यसअघि नै सार्वजनिक गरेका थिए।

कांग्रेस उम्मेदवार पोखरेल मत माग्दै।

लोकतान्त्रिक गठबन्धनबाट सार्वजनिक गरिएका प्रतिवद्धताहरू पनि वाम गठबन्धनभन्दा फरक छैनन्। बाग्दुला–भिमगिठे सडक, स्वर्गद्वारी क्याम्पसलाई आंगिक, प्राविधिक शिक्षालय स्थापना, नौमुरे जलविद्युत्त आयोजना लगायत योजनाहरु दुवैले प्राथमिकतामा राखेका छन्। जिल्लाको माण्डवी र सरुमारानी गाउँपालिकामा नमुना बस्ती निर्माण गर्ने प्रतिवद्धता कांग्रेसले जनाएको छ।

वाम गठबन्धनबाट राजमोका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल र लोकतान्त्रिकबाट नेपाली कांग्रेसको तर्फबाट प्रा.डा. गोविन्दराज पोखरेल प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। स्थानीय तह निर्वाचको मत परिणाम हेर्दा जिल्लाका वाम गठबन्धन बलियो देखिन्छ। जिल्लाभर एक लाख ३८ हजार ६ सय ४१ जना मतदाता रहेका छन्।