816 views 0 secs 0 comments

शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन विद्यालय बन्द…

In देश
६ पुष २०७६, आईतवार १२:०४

शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ । 
बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताए ।
तिलाठी कोइलाडी गाउँपालिकाले समेत चार दिनका लागि सामुदायिक विद्यालय बन्द गरेको छ । गाउँपालिका अध्यक्ष शतिशकुमार सिंहले गाउँपालिकाका १७ सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।
सप्तकोशी नगरपालिकाले बिहीबारदेखि सोमबारसम्म पाँच दिनका लागि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बन्दको निर्णयपछि सोमबारसम्मका लागि सप्तकोशी नगरपालिकाका सात आधारभूत र चार माध्यमिक विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख रामदेव चौधरीले बताए ।
सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित र विपन्न परिवारका भएकाले बाक्लो र पर्याप्त कपडा अभावमा चिसोले बिरामी पर्न सक्ने भन्दै स्थानीय तहले विद्यालय बन्द गरेका हुन् ।