757 views 0 secs 0 comments

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने…

In देश, समाज
८ मंसिर २०७६, आईतवार १५:०५

केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो ।
गाउँपालिकाभित्र पर्ने चारवटा वडामा मात्र पाइने भीर माहुरीको मह स्थानी केही व्यक्तिको समूहले मनपरी तरिकाले काढेर निकासी गर्न थालेपछि गाउँ कार्यपालिकाको बैठक बसेर नियन्त्रण गर्दै संरक्षण गर्ने अभियान शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो ।
“सामुदायिक र सार्वजनिकस्थलमा हुने भिर माहुरीको महबाट निश्चित व्यक्तिले मात्र फाइदा लिने र लापरवाही गरेर मह काढ्दा माहुरी नै लोप हुने अवस्था आएको छ”, उहाँले भन्नुभयो, “अनुमति लिएर माहुरी काढ्दा संरक्षणमा समेत सहयोग पुग्ने भएकाले मिति तोकेर भिर माहुरीको मह काढ्ने व्यवस्था गरिएको हो ।”
गाउँपालिकाले गरेको निर्णयअनुसार मङ्सिर १५ देखि २५ गतेभित्र र जेठ १५ देखि २५ गतेभित्र भीर माहुरीको मह काढ्ने मिति तोकिएको छ । तोकिएको मितिमा माहुरी नमर्ने गरी मह काढ्न सबैलाई आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले गरेको निर्णयअनुसार आगामी दिनमा मह काढ्ने व्यक्ति तथा समूहले सम्बन्धित वडालाई खबर गर्नुपर्छ अनि वडाले गाउँपालिकालाई सूचना दिनुपर्ने व्यवस्था गरिएको छ । “भीर माहुरी र मह काढेको हेर्न इच्छुकका लागि गाउँपालिकाले प्रचारप्रसारसमेत गर्नेछ”, गाउँपालिका प्रमुख राईले भन्नुभयो, “यसले गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि हुने अपेक्षा गरेका छौँ ।”