15 views 0 secs 0 comments

काभ्रेमा क्यान्सरको उपचार सुरु

In देश, समाज
११ मंसिर २०८०, सोमबार १७:२८

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु गरिएको छ । अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो । काभ्रेपलाञ्चोकमै उपचार सेवा सुरु भएसँगै क्यान्सर बिरामीलाई भक्तपुर र काठमाडौँ पुग्नुपर्ने बाध्यता हटेको छ ।

क्यान्सर बिरामी हुँदा कुनै पनि व्यक्तिले भोग्नुपर्ने आर्थिक, सामाजिक र व्यवहारिक कठिनाइलाई न्यूनीकरण गर्दै उपचारमा सहजता ल्याउन क्यान्सर रोगको उपचार सुरु गरिएको अस्पतालका क्यान्सर केयर कोअर्डिनेटर डा.ध्रुव कँडेलले बताए । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर गायरसले सबै प्रकारका क्यान्सर रोगको उपचार र रोकथामका लागि स्थानीयस्तरमै सेवा विस्तार गरिएको जानकारी दिए ।

विभिन्न प्रकारका रोगको उपचार हुने मध्यपहाडी क्षेत्रमा सबैभन्दा पुरानो विसं २०१७ मा स्थापित उक्त अस्पतालमा हाल एक सय ५० शय्याबाट उपचार सेवा प्रदान गर्दै आएको छ । स्क्यान्सर रोगका बिरामीलाई अन्यत्र पठाउन नपर्ने गरी १२ शय्याको विभागबाट उपचार सेवा सुरु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा एन्जिला बस्नेतले बताए ।