
११ मंसिर, काठमाडौं ।
आइतबार दिउँसो साढे २ बजे परीक्षा नियन्त्रण कार्यालय, बल्खुको गेटमा भेटिएका दिनेश कार्की स्नातक तहको ट्रान्सक्रिप्ट निकाल्नका लागि हतारिंदै फारम भर्न आइपुगेका थिए ।
ट्रान्सक्रिप्ट लिनका लागि दस्तुर बुझाउने बैंक काउन्टर ३ बजे बन्द हुने सुनेका उनले हतारकै बीच भने, ‘कम्तीमा अनलाइनबाट काम हुने भए यति सास्ती त हुँदैनथ्यो !’
सम्बन्धित प्रमाणपत्रको लागि फारम भर्न, बुझाउन, बैंकमा दस्तुर बुझाउन पटक–पटक लाइन लाग्नुपर्छ । त्यसपछि प्रमाणपत्र पाउन एक हप्तादेखि १५ दिनसम्म पर्खनुपर्छ । त्रिविको यस्तो झञ्झटिलो प्रक्रियाका कारण विद्यार्थीले सास्ती भोगिरहेको बताउँछन् ।