551 views 0 secs 0 comments

शेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

In देश
२५ मंसिर २०७५, मंगलवार १७:१०

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। शेयर बजार ओरालो लागिरहेका बेला अर्थमन्त्री खतिवडाले सो समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

मंगलबार संघीय संसद अर्थ समितिको बैठकमा उनले सेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले एक समिति गठन गरेको र त्यसले शुक्रबार प्रतिवेदन बुझाएपछि सरकारले सो समस्या समाधानका लागि आवश्यक कदम चाल्ने योजना पनि सुनाए। अर्थमन्त्री खतिवडाले शेयर बजारलाई व्यवस्थित बनाउन विज्ञहरुसँग परामर्श गरेर सरकारलाई सुझाव दिन पनि समितिलाई आग्रह गरे।

अर्थमन्त्री खतिवडाले स्वपूँजीमार्फत् राष्ट्रिय पूँजीको निर्माण गर्न सरकारले सेयर बजारलाई आधुनिक बनाउन चाहेको दावी पनि गरे। बैठकमा समितिका सदस्यहरुले शेयर बजारमा देखिएका समस्या तत्काल समाधान गर्न सरकार र शेयर लगानीकर्ताबीच छलफल गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका थिए। समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शेयर बजारमा देखिएको समस्या तत्काल समाधान गर्न सरकार र शेयर लगानीकर्तालाई सचेत गराए।

समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने सेयर बजारलाई सरकार आफैंले निरुत्साहित बनाउने काम गरेको उल्लेख गर्दै आपत्ति जनाएका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता समेत रहेका उनले वर्तमान सरकार बनेयता किन सेयर बजार ओरालो लाग्दै गएको हो? भन्ने पहिचान गरी अघि बढन पनि सरकारलाई सचेत गराए। केही दिनयता सेयर बजार ओरालो लाग्ने क्रम बढेर गएपछि शेयर लगानीकर्ताहरुले पनि शेयर बजार सुधार गर्न सरकारसँग माग गर्दैै आन्दोलन गरिरहेका छन्।