मसिर १३ – पाँच महिना अघि युएई आएका तीन जना नेपाली अलपत्र परेका छन । कम्पनीले वेवास्ता गरेपछि उनीहरु अलपत्र परेका हुन । भिसा नलगाइदिएको, डिपीएस नगराएको र काममा पनि नखटाएपछि उनीहरु समस्या परेका छन् ।
झापाका प्रकाश गिरी, रुकुमका मधु पुन र सुर्खेतका विजयकुमार ठाडा अलपत्र परेका छन् । उनीहरु दुवईको चिन्तन सेक्युरिटी कम्पनीमा सेक्युरिटी सुपरभाइजरका रुपमा काम गर्न काठमाडौंको डलुस्को म्यानपावर मार्फत युएई आएका थिए ।
मासिक ४ हजार दिर्हाम तलब पाइने भन्दै म्यानपावर कम्पनीले प्रतिव्यक्ति ४ लाख रुपैयाँ लिएको पीडितहरुले बताए । तर उनीहरुलाई युएई आएपछि भने १८ सय दिर्हाम तलबमा सही गर्न भनिएको थियो ।
त्यसपछि पीडितहरुले काठमाडौंमा रहेको म्यानपावरका गोपाल थापालाई फोन गरेर कम्पनीले फरक सम्झौता गर्न लागेको बारे जानकारी गराएका थिए । म्यानपावर कम्पनीले पनि तत्काललाई नयाँ सम्झौतामा सही गर्न र तीन महिनापछि भनेकै तलब दिलाउने भन्दै दवाव दिएका थिए ।
म्यानपावरले भने जसरी नयाँ सम्झौतामा सही गरे पनि कम्पनीले उनीहरुलाई काममा लगाएको छैन । कम्पनी सञ्चालक र म्यानेजरहरुले आजभोली भन्दै टारेको तथा अहिले कम्पनी बन्द जस्तै रहेको पीडितहरुको भनाई छ ।
बरदुबईको करामा रहेको कम्पनीको कार्यालयमा लगाएको साइनबोर्ड हटाइएको छ भने कार्यालयमा कर्मचारी छैनन् । कम्पनी सञ्चालक र म्यानेजरको फोन समेत बन्द भएकाले पीडितहरुले उद्दारका लागि पहल गरिदिन एनआरएन तथा नेपाली समाज युएईमार्फत नेपाली दूतावास आबुधाबीमा निवेदन दिएका छन् ।