
जिल्ला अदालत तनहुँले जबर्जस्ती करणी मुददाका एक अभियुक्तलाई १२ वर्ष छ महिना कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले सो मुद्दामा पक्राउ परेका गोरखा पालुङटार नगरपालिका–५ का कृष्णकुमार विकलाई आइतबार सो कैद फैसला सुनाएको हो ।
गत असार १४ गते तनहुँको भानु नगरपालिका–३ तुरतेरस्थित पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विकलाई कैद सजायसहित पीडितलाई रु एक लाख क्षतिपूर्ति दिलाउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिनुभयो । पीडितलाई क्षतिपूर्ति बापतको जरिवाना अभियुक्तबाट नै भराउने अदालतको फैसला छ ।