
१३ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशसँग नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा बंगलादेशले नेपाललाई ४४ रनले पराजित गरेको हो ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ९ विकेटको क्षतिमा १११ रनमात्र बनाउन सक्यो ।नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । त्यस अतिरिक्त दीपेन्द्रसिंह ऐरीले १६ र अविनाश बोहराले १३ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपालले पहिलो पाँच ओभरभित्रै आफ्ना महत्वपूर्ण तीन विकेट गुमाइसकेको थियो । पारश खड्का ९ रन बनाएर बाहिरिँदा पवन शर्राफ र आरिफ शेखले रनको खाता नै खोल्न सकेनन् । रोहित पौडेलले ८ र विनोद भण्डारीले ३ रनमात्र बनाए । बंगलादेशका बलरहरु सुमोन खान, तनवीर इस्लाम, सौम्य सरकार र मेहदी हसनले दुई–दुई विकेट लिए । यसअघि बंगलादेशका लागि नजमुल होसैन शान्टोले सर्वाधिक ७५ रन बनाएर अविजित रहे । ६० बलमा उनले चार छक्का र चार चौकाको मद्दतमा उक्त रन बनाएका हुन् ।
त्यस अतिरिक्त अफिफ होसैनले अद्र्धशतकीय पारी खेल्दै २८ बलमै ५२ रन जोडे । यासिर अलिले १४ रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अङ्कमा रन बनाउन असफल रहे ।
बलिङतर्फ नेपालका पूर्व कप्तान पारश खड्काले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा मात्र १५ रन खर्चदैं तीन विकेट लिएका हुन् । यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई र अभिनाष बोहराले एक विकेट लिए ।