यु–१९ विश्वकप छनोटमा नेपालले ओमानलाई २३० रनको लक्ष्य …

In खेलकुद
३ बैशाख २०७६, मंगलवार १३:१३

१० औं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिस जिसीले आक्रामक ब्याटिङ गरेपछि मलेसियामा जारी यु–१९ विश्वकप छनोटमा नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको हो ।
आजको खेलमा नेपालको सुरुवात सन्तोषजनक हुन सकेन । नेपालले २० ओभरको खेल हुँदा ८१ रनको स्कोरमा पाँचौं विकेट गुमाइसकेको थियो । तर, त्यसपछि रोहितकुमार पौडेल र भीम सार्कीले ९२ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हाले । छैटौं विकेटको रुपमा कप्तान रोहित कुमार पौडेल आउट हुँदा नेपालको स्कोर १७३ रन पुगिसकेको थियो ।
कप्तान पौडेल आउट भएपछि भने नेपालको इनिङ फेरि धर्मरायो । त्यसपछि लगातार विकेट जाँदा १७८ रनको स्कोरमा नेपालले ९ विकेट गुमाइसकेको थियो । नेपालका लागि १० औं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिस जिसीले आक्रामक इनिङ खेल्दै २३ बलमा ४१ रन बनाएपछि नेपालको स्कोर २२९ रन पुगेको हो ।
नेपालको लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रन बनाए । ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । प्रतिस जिसीले आक्रामक ब्याटिङ गर्दै २३ बलमै ४१ रन बनाउने क्रममा ४ छक्का र २ चौका प्रहार गरे । २ चौका र १ छक्का हानेका भीम सार्कीले ४३ बलमा ३९ र बनाए । अबको केहीबेरमा ओमन जवाफी ब्याटिङमा उत्रनेछ ।