‘नेपालले टी–२० इस्टर्न रिजन जित्नुपर्छ’

In खेलकुद
५ फाल्गुन २०७६, सोमबार १६:४९

आईसीसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज सकिएको हप्ता पनि भएको छैन, नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को प्रतियोगिताको लागि तयारीमा जुटेको छ ।
नेपालले फागुन तेस्रो सातादेखि थाइल्याण्डमा एसीसी टी-२० इस्टर्न रिजन प्रतियोगिता खेल्नेछ ।
यो प्रतियोगितामा ८ राष्ट्र सहभागी हुनुपर्ने हो तर कोरानो भाइरसका कारण चीनले सहभागिता नजनाउने भयो भने भुटान र म्यानमारले पनि नखेल्ने भयो । त्यसैले नेपालसहित हङकङ, सिंगापुर, मलेसिया र थाइल्याण्डले मात्र खेल्नेछन् ।
एसियन क्रिकेट काउन्सिल -एसीसी)ले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्नेछ । यस्तै मार्च १ मा हङकङसँग, मार्च ४ मा थाइल्याण्डसँग र मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।
प्रतियोगिताका लागि नेपालले सोमबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा तयारी सुरु गरेको छ ।  बन्द प्रशिक्षणको पहिलो दिन भए पनि निरन्तर क्रिकेट खेलिरहेकाले तयारी राम्रो रहेको कप्तान ज्ञानेन्द्र मल्लले बताए । ‘गएको एक/डेढ महिनादेखि हामी राम्रो तयारी गरिरहेका छौं र, खेलिराछौँ’ कप्तान मल्लले भने, ‘इस्टर्न रिजनका लागि टी–२० स्पेसलिस्ट ३/४ जना खेलाडीहरु पनि समावेश गरिएको छ ।’
नेपालले राम्रो क्रिकेट खेल्दै इस्टर्न रिजन प्रतियोगिता जित्नुपर्ने कप्तान मल्लले बताए ।
प्रतियोगितामा ओडीआई मान्यता पाएको टिम नेपाल मात्र छ । यसअघि टी–२० विश्वकप खेलिसकेको हङकङ र एसीसीमा राम्रो प्रदर्शन गरिरहेको सिंगापुर पनि छन् ।
जस्तो टिम भएपनि नेपालले खेलेको दिन राम्रो प्रदर्शन गर्नुपर्ने कप्तान मल्लको बुझाइ छ । ‘एक दुई वटा टिम स्तरका हिसावले धेरै नै तल छ । तर टी–२० मा राम्रो नराम्रो भन्ने हुँदैन । पछिल्लो वर्ष हङकङ सिंगापुरहरुले राम्रो क्रिकेट खेलिरहेको छ’ मल्लले भने, ‘राम्रो खेलेर जित्न सक्नुपर्छ ।’
इस्टर्न र वेस्टर्न दुवै रिजनबाट उत्कृष्ट हुने २-२ टोली एसिया कपको क्वालिफायरमा पुग्नेछन् र त्यहाँ विजेता हुने टिम मात्र एसिया कपमा छनोट हुनेछ । सेप्टेम्बरमा हुने एसिया कपमा एसियाका पाँच टेष्ट नेशन भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसहित छनोटको विजेता हुने टिमले खेल्नेछ ।
एसिया कप पुग्न इस्टर्न रिजनमा राम्रो गर्नुपर्ने कप्तान ज्ञानेन्द्रले पनि बुझेका छन् । त्यही अनुसार टिम बनाएको भन्दै उनले भने, ‘खेलाडीहरु एक डेढ वर्षदेखि संगसंगै छौं, ट्रेनिङ गरिरहेका छौं । सबैलाई आफ्नो बलियो पक्ष बारे थाहा छ ।’