
काठमाडौं, माघ २३— इंग्लिश प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदारी चेल्सीले आफ्नो अग्रता कायमै राखेको छ । शनिबार राति भएको खेलमा आर्सनललाई ३÷१ गोल अन्तरले पराजित गर्दै चेल्सीले शिर्ष स्थानको अग्रता ९ अंक बनाएको हो ।
यो जितसँगै चेल्सीले लिगको उपाधि यात्रा समेत सहज बनाएको छ । लिगमा २४ खेलबाट ५९ अंक जोड्दै लिगको शीर्षस्थानमा रहेको चेल्सी दोस्रो स्थानको टोटेनह्यामभन्दा ९ अंकले अघि रहेको छ । टोटेनह्यामको ५० अंक छ । यस्तै चेल्सी ४७ अंकसहित तेस्रो स्थानमा रहेको आर्सनलभन्दा १२ अंकले अघि छ ।
घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन मार्कुस अलन्सो, इडेन हाजार्ड र सेस फ्याब्रिगासले एक एक गोल गरे । आर्सनलको लागि ओलिभर जेउरुडले एक गोल फर्काए ।आर्सनलमाथि एकतर्फी खेल खेलेको चेल्सीले खेलको १३ औँ मिनेटमा अलन्सोको गोलबाट सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफ १ – ० ले अघि रहेको चेल्सीले ५३ औँ मिनेटमा हाजार्डको गोलबाट अग्रता दोब्बर बनायो ।
खेलको ८५ औँ मिनेटमा फ्याब्रिगासले मैदान पसेको केहि मिनेटमै गोल गर्दै चेल्सीको अग्रता ३ – ० को बनाए । त्यसपछि खेलको अतिरिक्त समयमा आर्सनलका लागि जेउरुडले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।