701 views 0 secs 0 comments

काठमाडौं उपत्यकामा मंगलबारदेखि इन्द्रजात्रा सुरू,सरकारले इन्द्रजात्राको अवसर पारेर शुक्रबार सार्वजनिक बिदा …

In समाज
२४ भाद्र २०७६, मंगलवार १२:२७

काठमाडौं उपत्यकामा मंगलबारदेखि इन्द्रजात्रा सुरू भएको छ।
काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो य:सिं ठड्याएर इन्द्रजात्राको सुरूआत गरिएको हो।

भक्तपुरको चित्तपोलबाट ल्याइएको य:सिं हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरू गर्ने चलन रहेको छ। यो य:सिं गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरू भएको मानिन्छ।

इन्द्र जात्रा सुरू भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरू भएको छ।
इन्द्रजात्राको मुख्य दिन यही भदौ २७ गते दिउँसो ४ः०० बजे श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरू हुन्छ।
त्यसदिन राष्ट्रपति विद्यादेवी भण्डारीले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गरी दान दक्षिणापछि रथयात्रा सुरू गर्न अनुरोध गर्ने परम्परा छ। त्यस दिन तल्लो टोलमा कुमारी यात्रा गराइनेछ ।

भदौ २८ गते शनिबार माथिल्लो टोलमा रथयात्रा हुनेछ। भदौ ३१ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा गराइने संस्थानले जनाएको छ । त्यसै दिन राति करिब ८ः०० बजे जीवित देवी कुमारीसँग राष्ट्रपति भण्डारीले टीका प्रसाद ग्रहण गर्ने छिन्।
टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले खड्ग साट्ने परम्परा छ । आगामी असोज १ गते बिहान ५ः३५ बजे लिङ्गो ढाल्ने (इन्द्रध्वज पातन) साइत दिइएको समितिले जनाएको छ ।

सरकारले इन्द्रजात्राको अवसर पारेर शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ।