607 views 0 secs 0 comments

सर्वोच्च अदालतबाट छुटेका पत्रकार हमाललाई प्रहरीले अदालत परिसरबाटै पुन: पक्राउ…

In समाज
१९ भाद्र २०७६, बिहीबार १०:१८

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग निकट रहेको आरोपमा पक्राउ परेका पत्रकार ओम हमाललाई महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक हितविरूद्धको कार्य गरेको भन्दै अनुसन्धान थालेको छ।
मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटले सर्वोच्च अदालतबाट छुटेका हमाललाई प्रहरीले अदालत परिसरबाटै पुन: पक्राउ गरेको छ।

उनलाई अभद्र व्यवहारमा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।
हमालको कसुर भने प्रहरीले केही उल्लेख गरेको छैन।
विप्लवको पार्टीसँग आस्था राखेकै आधारमा उनलाई पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलन नै गरेको छ। हमाललाई रिहाइ माग्दै बुधबार देशभरि महासंघको अगुवाइमा आन्दोलन भइरहेको छ।

उनलाई के कसुरमा समातिएको हो भन्ने प्रश्नमा महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘अहिले अनुसन्धान भइरहेको छ, यत्ति बुझ्नुस्।’
हमाललाई यसअघि भदौ ६ गते कास्कीबाट पक्राउ गरिएको थियो।
बिना कसुर पक्राउ गरेको भन्दै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश केदारप्रसाद चालिसे र ईश्वर खतिवडाको इजलासले हमाललाई रिहा गर्न आदेश दिएको थियो। तर, रिहा भएलगत्तै प्रहरीले उनलाई फेरि मंगलबार पक्राउ गरेको थियो।