
नेपालका नेताहरु धेरै खचार्लु भएको आरोप लाग्ने गरेको छ । कुनै पनि पेशा व्यवसाय नभएको भए पनि नेपालमा नेताहरुले अरु भन्दा फरक जीवन विताउँदै आएका छन् ।
यो बिचमा नेपालको छिमेकी भुटानका प्रधानमन्त्री भने अहिले पनि डाक्टरी पेशामा हुनुहुन्छ । थिम्पुको दोर्जे वाङचुक अस्पतालमा शनिबार डा. लोतेय छिरिङले एक बिरामीको पिसाब थैलीको सफल अपरेशन गर्नुभयो ।
लोतेय छिरिङ अर्थात उहाँ भूटानका प्रधानमन्त्री हुनुहुन्छ । उहाँले साताको पाँच दिन प्रधानमन्त्रीका रुपमा काम गर्नुहुन्छ भने सप्ताहन्तका दुई दिन अस्पतालमा काम गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘अस्पतालमा काम गर्नु मेरा लागि तनाब कम गर्ने उपाय हो,’ गतसाल प्रधानमन्त्री निर्वाचित हुनु भएका छिरिङ भन्नुहुन्छ, ‘कोही गल्फ खेल्छन्, कोही धनुकाण खेल्छन्, म अपरेशन गर्छु ।
म अस्पतालमा सप्ताहन्त मनाउँछु ।’ प्रधानमन्त्री छिरिङ अस्पतालमा काम गर्न पुग्दा त्यहाँ कुनै तामझाम हुँदैन । साधारण डाक्टरजस्तै अस्पताल पुग्नुहुन्छ । अरु सबै आआफ्नो काम गरिरहेका हुन्छन् ।
उहाँ पनि नियमित डाक्टरले झैं आफ्नो काम गर्नुहुन्छ । उहाँको यो कार्य अहिले उहाँ नेपालमा मात्रै होईन विश्वभर चर्चामा हुनुहुन्छ । उहाँको यो कार्यबाट नेपालका नेताहरुले पनि केही सिक्ने पो हो की ? जनता प्रश्न गरिरहेका छन् ।