
इजिप्टस्थित नेपाली दूतावासले द्वन्द्वग्रस्त लिबियामा फसेका २२ नेपाली मध्ये ७ जनालाई उद्धार गरी पठाएको छ । उनीहरू बुधवार राति काठमाडौँ आइपुगेका छन् ।
दूतावासले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)सँग समन्वय गरी नेपाल पठाएको हो । लिबियादेखि काठमाडौंसम्मको टिकट आईओएमले नै उपलब्ध गराएको नेपाली दूतावासका प्रवक्ता सुजन बिडारीले बताए ।
दूतावासले अनुस लामा, किरण खड्का, सिराज रायामाझी, शुभप्रसाद पराजुली, रवि गुरुङ, प्रेमशील थारु र प्रेमलाल गौतमलाई उद्धार गरी पठाएको हो । इटली छिराउने भन्दै मानव तस्करहरूले उनीहरूलाई लिबिया लगेर अलपत्र बनाएको थियो । उनीहरूलाई आईओएमको ‘डिटेन्सन सेन्टर’ (घरफिर्ती केन्द्र)भित्र राखिएको छ ।
बिडारीका अनुसार उद्धार गर्न बाँकी रहेका १५ जनालाई नेपाली शान्ति सेनाको क्याम्पभित्र ल्याएर राख्ने योजना भइरहेको छ ।
दूतावासले रुपन्देहीका गणेश थापा मगर, पूर्णबहादुर गुरुङ, बुद्धिबहादुर अधिकारी क्षेत्री, लम्जुङका अमृत गुरुङ, दाङका भुवन आचार्य, सुनसरीका राजु विष्ट, सनम विश्वकर्मा, गुप्तबहादुर बिक, सिन्धुपाल्चोकका कृष्ण कोइराला, शेखर खरेल, जयराम धामी, अजयकुमार चौधरी, मनोहर कार्की र प्रकाश विश्वकर्माको ट्राभल डकुमेन्ट बनाइ पठाइसकेको छ । उनीहरू त्रिपोलीस्थित अलसाही कम्पनीमा काम गर्न पुगेका थिए ।