आज आइपिएलको २० औं खेलमा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध मैदानमा उत्रिँदैछ । दिल्ली लगातार ४ खेल आफ्नै घरमा खेलेपछि आज बाहिर निस्किन लागेको हो । पहिलो खेलमा मुम्बइ इण्डियन्सलाई उसकै होमग्राउण्डमा गएर हराएको दिल्लीले त्यसपछिका ४ खेल आफ्नै होमग्राउण्ड दिल्लीको फिरोज शाह कोटलामा खेलेको थियो । आजको खेल खेल्न दिल्ली रोयल च्यालेन्जर्सको होमग्राउण्ड बैंगलोरको एम चिन्नास्वामी स्टेडियम जाँदैछ ।
५ खेलमा २ खेलमा मात्र जीत हात पारेको दिल्ली अहिले अंक तालिकाको छैटौं स्थानमा छ । अहिलेसम्म ५ खेल खेलेर सबै हारेको बैंगलोर तालिकाको अन्तिममा छ । दुवै टिमलाई प्लेअफ जाने सम्भावना बलियो राख्न आजको खेल जित्नुपर्ने दबाब छ । ठूला खेलाडी भएर पनि जित हात पार्न नसकेको बैंगलोरको लागि इज्जत जोगाउन पनि जित्नुपर्ने दबाब अझै बढी छ ।
दिल्ली क्यापिटल्समा नेपाली खेलाडी सन्दिप लामिछाने पनि आबद्ध भएकोले नेपाली फ्यानको ध्यान सन्दिप खेलको प्लेइङ ११ मा पर्छन् कि पर्दैनन् भन्नेतिर बढी छ । दिल्लीका सुरुवाती २ खेल नखेलेका सन्दिप त्यसपछिका तीन खेलमा भने खेलेका छन् । आजको खेलअगाडि क्रिकेटका ठूला विश्लेषकहरुले भने सन्दिपलाई टिमको प्लेइङ ११ मा राखेका छन् । यद्यपि कप्तान र कोचले के गर्छन् भन्ने कुरा भने टसपछि मात्र थाहा हुनेछ । आज नेपाली समयअनुसार सवा ४ बजे सुरु हुने खेलको टस पौने चार बजे हुनेछ ।
यदि सन्दिप आज खेल्न पाए भने उनी आफ्नै टिमका कप्तानविरुद्ध मैदानमा उत्रिनेछन् । यससँगै उनी भारतीय कप्तानविरुद्ध दोस्रो पटक मैदानमा उत्रिनेछन् । बैंगलोरका विष्फोटक ब्याट्सम्यान एबी डिभिलियर्स पाकिस्तान सुपर लिगमा सन्दिप लामिछाने आबद्ध टिम लाहोर कलन्दर्सका कप्तान हुन् र विराट कोहली भारतको राष्ट्रिय टिमका कप्तान हुन् । अघिल्लो वर्ष सन्दिपले बैंगलोरविरुद्ध नै डेब्यू गरेका थिए ।
क्रिकेटको सबैभन्दा ठूलो वेबसाइट इएसपिएन क्रिकइन्फोले सन्दिपलाई ब्याटिङ अर्डरको हिसाबले ११ नम्बरमा राखेको छ । इएसपिएनका विश्लेषकले अनुमान गरेको सम्भावित प्लेइङ ११ मा १. पृथ्वी शा २. शिखर धवन ३. श्रेयस अय्यर (कप्तान) ४.ऋषभ पन्त (विकेटकिपर) ५. कोलिन इन्ग्राम ६. राहुल तेवटिया ७. क्रिस मोरिस ८. अक्षर पटेल ९. केगिसो रबाडा १०. इशान्त शर्मा र ११. सन्दिप लामिछाने छन् ।
यसैगरी अर्को ठूलो क्रिकेटसम्बन्धी वेबसाइट क्रिकबजले पनि सन्दिपलाई प्लेइङ ११ मा राखेको छ । क्रिकबजका विश्लेषकले अनुमान गरेको सम्भावित प्लेइङ ११ मा १. पृथ्वी शा २. शिखर धवन ३. श्रेयस अय्यर (कप्तान) ४.ऋषभ पन्त (विकेटकिपर) ५. कोलिन इन्ग्राम ६. अक्षर पटेल ७. क्रिस मोरिस अथवा ट्रेन्ट बोल्ट ८. राहुल तेवटिया ९. केगिसो रबाडा १०. सन्दिप लामिछाने र ११ इशान्त शर्मा छन् ।