सन्दिप आबद्ध दिल्ली क्यापिटल्स खेल्दै, धोनीको आँगनमा सन्दिपको सम्भावना कति ?

In खेलकुद
१८ बैशाख २०७६, बुधबार ११:०८

इण्डियन प्रिमियर लिग (आइपिएल)मा महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नइ सुपरकिंग्ससँग नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स खेल्दैछ । आज बेलुकी नेपाली समयअनुसार सवा ८ बजे सुरु हुने खेल धोनीको आँगन अर्थात चेन्नइको चेपकमा रहेका एम चिदम्बरम स्टेडियममा हुँदैछ । चेपकमा धोनी निकै सफल छन् त्यसैले यहाँ उनलाई हराउनु निकै कठिन हुनेछ । त्यसमाथि धोनी आइपिएलकै सबैभन्दा सफल कप्तान हुन् र उनलाई हराउन राम्रो खेलले मात्र पुग्दैन रणनीति पनि चाहिन्छ ।
आजको खेल दुवै टिमका लागि महत्वपूर्ण छ । दुवै टिमले समान १६ अंकका साथ प्लेअफमा स्थान बनाइसकेका छन् । आजको खेल जित्ने टिमलाई अंक तालिकामा शीर्ष २ मा स्थान बनाउने अवसर भएकोले दुवै टिमका लागि यो खेल निकै महत्वपूर्ण भएको हो । शीर्ष दुईमा पर्ने टिमले प्लेअफमा पहिलो खेलमा पराजित भए पनि दोस्रो खेल जित्दै फाइनल पुग्न अवसर पाउँछ । तर, तेस्रो वा चौथो स्थानमा परेमा भने एउटा खेल मात्रै हारे बाहिरिनुपर्छ ।
आइपिएलको जारी सिजनमा अहिलेसम्म सबैभन्दा शक्तिशाली देखिएका यी दुई टिमबीचको भिडन्त निकै रोचक हुने देखिएको छ । रोचक त के भने जारी आइपिएलमा चेन्नइ सबैभन्दा बुढो टिम हो र दिल्ली सबैभन्दा युवा टिम हो । चेन्नइका खेलाडीको औसत आयु ३० वर्षभन्दा माथि छ भने दिल्लीका खेलाडीको औसत आयु २५ वर्ष छ । चेन्नइका पाका खेलाडीको अनुभव र दिल्लीका युवा खेलाडीको जोशको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
सन्दिपको सम्भावना कति ?
आजको खेल चेन्नइको चेपक मैदानमा हुँदैछ । यो मैदान स्पिनरको लागि सहयोगी पिच हो । यही पिचमा जारी सिजनको पहिलो खेलमा चेन्नइका स्पिनरहरुले बैंगलोरलाई ७२ रनमै अलआउट गरिदिएको इतिहास छ । त्यसैले आज दिल्लीले ३ जना स्पिनर (अमित मिश्रा, सन्दिप लामिछाने र अक्षर पटेल)लाई मैदानमा उतार्ने क्रिकेट विश्लेषकहरुले अनुमान गरेका छन् । विश्लेषक अजित अगरकरले खेलको परिस्थितिअनुसार दिल्लीले अघिल्लो खेलकै ११ जना आज पनि मैदानमा उतार्ने अनुमान गरेका छन् ।
क्रिकेटसम्बन्धी चर्चित वेबसाइट इएसपिएन क्रिकइन्फोले पनि अघिल्लो खेलकै ११ जना खेलाडी मैदानमा उत्रिने अनुमान गरेको छ । क्रिकबजको अनुमानित प्लेइङ ११ मा पनि अघिल्लो खेलकै ११ खेलाडी छन् । चेन्नइका कोच स्टेफेन फ्लेमिङले चेन्नइका कप्तान महेन्द्र सिंह धोनी पूर्ण स्वस्थ रहेको बताएका छन् । अघिल्लो खेल मिस गरेका धोनी आजको खेलमा भने मैदानमा उत्रिने अनुमान गरिएको छ । कारणवश धोनी आज मैदानमा उत्रिन सकेनन् भने आजको खेल दिल्लीको लागि तुलनात्मक रुपमा सहज हुनेछ ।