इपिएलको खेल तालिका सार्वजिनक, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने

In खेलकुद, देश
१४ मंसिर २०७४, बिहीबार १२:५५

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। इपिएलले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार पुस ३ गते उद्घाटन खेल हुनेछ। उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ।

१२ दिन चल्ने लिगमा १९ खेल हुनेछन् । लिगमा ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने लिगमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स प्रतिस्पर्धा गर्नेछन्।

लिग चरणमा प्रत्येक टिमले एकआपसमा खेल्नेछन्। लिगमा शीर्ष हुने दुई टिमबीच पहिलो क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनलमा पुग्नेछ। हार्ने टिमले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

लिगमा तेस्रो र चौथो हुने टिमबीच एलिमिनेटर हुनेछ। जित हात पर्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ।

इपिएलका लागि खेलाडी अक्सन (बोलकबोल) मार्फत प्रत्येक टिमले १०–१० खेलाडी आफ्नो टिममा भित्र्याएका थिए । अब प्रत्येक टिमले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छान्न बाँकी छ। सबै टिमले ट्यालेन्ट हन्ट गरिरहेका छन् भने विदेशी खेलाडीको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन।

अक्सनमा अलराउन्डर आरिफ शेख, तीव्र गतिका बलर करण केसी, युवा स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी सबैभन्दा बढी १ लाख ७५ हजार रुपैयाँमा बिक्री भएका थिए। आरिफलाई भैरहवा ग्लाडिएटरले भित्र्याउँदा करणलाई विराटनगर वारियर्सले आफ्नो टिममा राखेको थियो । सन्दीप ललितपुर पाट्रिओट्समा उच्चतम मूल्यमा बिक्री भएका छन् भने विनोद पोखरा राइनोजमा आबद्ध भएका थिए।

यस्तै, काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरी ‘मार्की’ खेलाडीका रुपमा आबद्ध भएका थिए।