राजविराज : सप्तरीको एक दम्पत्तीले गाउँमा स्वास्थ्य चौकी बनाउन करिब एक करोड रुपैयाँ मूल्य पर्ने जमिन दान दिएका छन्। कंकालिनी हनुमाननगर नगरपालिका ४ मधवापुरस्थित पुर्ख्यौली गाउँमा स्वास्थ्य चौकी निर्माणका लागि शैलेन्द्रचन्द्र झा (बुधन बाबु) र सन्जु झाले सात कटठा जग्गा दान गरेका हुन्।
दान गरिएको जग्गामा बन्ने स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै जग्गादाता शैलेन्द्रचन्द्र झाले सामाजिक क्षेत्रमा योगदान पुर्याएका आफ्ना बाबुको स्मृतिमा स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले जग्गादान गरेको बताए। उनका बुबा स्वर्गीय कृष्णदेव झा जिल्ला पञ्चायत सप्तरीका पूर्व सभापति थिए।
शिलान्यास गरिएको भवन एक वर्षभित्र निर्माण हुने सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर कमलप्रसाद भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार दुई करोड ४२ लाख ८० हजार रुपैयाँको लागतमा बन्ने भवन निर्माणको ठेक्का स्वामी नारायण साह जेभीले पाएको छ।
स्वास्थ्य चौकी निर्माण पछि बर्थिङ सेन्टर निर्माणका लागि पहल गरिने जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए। स्वास्थ्य चौकी भवन निर्माणका लागि आवश्यक परेको जमिन दान गर्ने झा नेकपा (एमाले) प्रदेश नम्बर २ संगठन कमिटिका सदस्य हुन्।