धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै इपिएलका लागि

In खेलकुद
७ मंसिर २०७५, शुक्रबार ११:१०

काठमाडौँ । यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन्।

प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन–तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार क्लबहरुले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन थालेका छन्।

आजै चितवन टाइगर्सले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई क्लबमा भित्र्याएको छ। चितवनले आज प्रेस विज्ञप्ति जारी गरी स्टिलिर्ङलाई क्लबमा अनुबन्ध गरेको जनाएको छ। अनुबन्धको रकम भने खुलाइएको छैन्।

निकै अनुभवी खेलाडी स्टिलिर्ङसँग बङ्गलादेश प्रिमियर लिग खेलेको अनुभव समेत रहेको क्लबले जनाएको छ। त्यसैगरी ललितपुर प्याट्रियट्सले आजै तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ। क्लबका अनुसार ललितपुरले यस संस्करणका लागि भारतीय खेलाडी जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमारलाई क्लबमा अनुबन्ध गरेको हो।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले जय किशन र सन्नीको अनुबन्ध थप गरेको हो। दुवैले गत सिजन ललितपुरबाटै खेलेका थिए। गौरब भने पहिलोपटक ललितपुरबाट खेल्न लागेका हुन्।

पुस ७ गते समापन हुने प्रतियोगितामा छ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।