
काठमाडौं – क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको एक दशकदेखिको राज तोड्दै क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले बालोन डि’ ओरको उपाधि जितेका छन्। यो अवार्ड पछिल्लो १० वर्ष रोनाल्डो र मेस्सीले समान ५–५ पटक जितेका थिए।
यस वर्षको फिफा वर्ष खेलाडी समेत बनेका मोड्रिचले फाइनलमा पोर्चुगल तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीलाई पछि पार्दै उपाधि हात पारे। विश्वकप फुटबल २०१८ मा आफ्नो देशलाई फाइनलसम्म पुर्याउनुका साथै रियल मड्रिडलाई लगातार ३ पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका ३३ वर्षीय मोड्रिच सन् २००७ पछि रोनाल्डो र मेस्सी बाहेक यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन्।
करियरमा पहिलो पटक बालोन डी ओरको उपाधि जितेका मोड्रिच भन्दा अगाडि सन् २००७ मा ब्राजिल तथा एसी मिलानका काकाले यो उपाधि उचालेका थिए। त्यसपछि लगातार १० वर्ष मेस्सी र रोनाल्डोले उपाधिका कब्जा जमाए। मोड्रिचपछि यसपटक रोनाल्डो दोस्रो, फ्रान्स तथा एथ्लेटिको मड्रिडका एन्टोनियो ग्रिजम्यान तेस्रो र फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का किलियन एमबाप्पे चौंथो स्थानमा रहेका छन्। मेस्सी यसपटक पाँचौं स्थानमा रहे।
विश्वभरका १८० खेल पत्रकारको मतको आधारमा मोड्रिचले अवार्ड जितेका हुन्। मोड्रिचले कुल ७५३ अंक पाए भने रोनाल्डोले ४७६ र ग्रिजम्यानले ४१४ अंक प्राप्त गरेका थिए। अवार्ड जितेपछि मोड्रिचले रोनाल्डो र मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको प्रतिक्रिया समेत दिएका थिए।
यस्तै पहिलो पटक महिला विधाको उपाधि नर्वेकी स्ट्राइकर एडा हेगरबर्गले जितिन्। यसैवर्ष देखि यो विधामा महिला तर्फको अवार्ड पनि राखिएको थियो। कोपा ट्रफी अवार्ड किलियन एम्बाप्पेले हात पारे।