मेस्सीका बालक फ्यानमाथि ज्यानको खतरा, दोस्रोपटक घर छाडेर भाग्न बाध्य

In खेलकुद
२३ मंसिर २०७५, आईतवार ११:५९

इस्लामाबाद। अर्जेन्टिना र बार्सिलोनाका स्टार फुटबल खेलाडी लियोनेल मेस्सीका बालक फ्यानमाथि ज्यानको खतरा बढेको छ । उनी ज्यान बचाउन २ वर्षको अवधिमा दोस्रो पटक घर छाडेर भाग्न बाध्य भएका छन् । अफगानिस्तानका ९ वर्षे बालक मुर्तजा अहमदीलाई आतंकवादी संगठन तालिबानले टुक्रा टुक्रा पारिदिने धम्की दिएको छ । यसअघि २०१६ मा पनि उनको परिवार घर छाडेर भाग्न बाध्य भएको थियो । त्यसपछि अफगानिस्तान फर्किएको उनको परिवार २ वर्षपछि पुनः पाकिस्तान विस्थापित भएको छ ।

मुर्तजाले दुई वर्ष पहिले प्लाष्टिकको थैलीले बनेको मेस्सीको अर्जेन्टिनी फुटबल टिमको जर्सी लगाएका थिए । उनको यो फोटो सामाजिक संजालमा निकै चर्चित भएको थियो । त्यसपछि खेलका क्रममा कतार आएका मेस्सीले उनलाई कतार बोलाएर भेटेका थिए । यही कारण आतंकवादी संगठन तालिबान मुर्तजासँग रिसाएको छ ।

मुर्तजा पूर्वी अफगानिस्तानको गजनी प्रान्तका हुन् । उनले आफ्ना परिवारसँग मेस्सीको जर्सी दिलाइदिन भनेका थिए । तर उनको परिवार यो किनिदिन असमर्थ थिए । जर्सी किनिदिन नसकेपछि मुर्तजाका पिता मोहम्मद आरिफ अहमदीले उनलाई नीलो र सेतो रंगको प्लाष्टिकको थैलीले बनेको जर्सी दिए । यो जर्सीसँगको फोटो चर्चित भएपछि मुर्तजा अन्तर्राष्ट्रिय सेलिब्रेटी बने । लगत्तै तालिबानले उनको घरमा बम खसालिदिने धम्की दियो । मुर्तजाको परिवार त्यहाँबाट भागेर पाकिस्तानमा शरण लिए ।

अर्कोतर्फ संसारभरका फुटबल प्रेमीहरुले मुर्तजाको समर्थन गरे । जब यो कुरा मेस्सीले थाहा पाए उनले मुर्तजालाई भेट्नको लागि कतार बोलाए । यहाँ बार्सिलोना र अल अहली साउदी फुटबल क्लवबीच हुने खेल खेल्नको लागि मेस्सी आएका थिए । खेलभन्दा अगाडि मेस्सीले मुर्तजालाई भेटे र पूरै टिमसँग उनको फोटोसेसन गराए । मेस्सीले मुर्तजालाई आफ्नो हस्ताक्षरसहितको जर्सी उपहार दिए ।

मुर्तजाका पिता आरिफ अहमदीले भने ‘छोरालाई मारिदिने धम्की आएपछि मैले पाकिस्तान जाने फैसला गरेको थिएँ । यहाँ हाम्रो लागि बाँच्न कठिन भएको थियो । मैले आफ्नो सबै सम्पत्ति बेचिदिएँ । छोरालाई बचाउनको लागि अफगानिस्तान छोडिदिएँ ।’ तर, पाकिस्तानमा राम्रो आम्दानी हुने काम नपाएपछि विस्तारै उनको पैसा सकिँदै गयो । पैसा सकिएपछि आरिफ परिवारसहित अफगानिस्तान फर्के । २ वर्षपछि अहिले फेरि मुर्तजालाई मारिदिने धम्की आउन थालेको छ ।

मुर्तजाकी आमा शफीका अहमदीले भनिन् ‘जबदेखि ऊ चर्चित भएको छ त्यसपछि मलाई थाहा छैन कि तालिबानीहरु ऊसँग के चाहन्छन् ? उनीहरुले भनेका छन् कि यदि मुर्तजा उनीहरुको कब्जामा आयो भने उसलाई काटिदिन्छन् । अब म चाहन्छु कि ऊ कहिल्यै चर्चित नहोस् । ऊ चर्चित हुँदा यसले हामी र उसको लागि पीडा पैदा गर्छ । विगत २ वर्षदेखि हामीले उसलाई स्कुल पठाउन पनि सकिरहेका छैनौं ।’