
रोल्पा – पछिल्ला केहि पर्ष यता रोल्पामा अस्थायी गर्भ निरोधका लागि ईम्प्लान्ट महिलाहरुको रोजाईमा पर्ने गरेको छ। पूर्वी रोल्पाकी रमिता मगर ‐नाम परिबर्तन) २२ वर्षकी भइन्। उनको बिहे भएको ७ वर्ष भयो। ५ वर्षको एउटा छोरो छ। श्रीमान बैदेशिक रोजगारिको सिलसिलामा बिदेश थिए तर अहिले ७ महिनादेखि नेपालमै छन्। श्रीमान घर आउने भए पछि लुकेर गर्भ निरोधको ३ महिने सुई लगाइन्। उनले डीपो सुई पनि लगाइन्। आफुलाई त्यसले राम्रो नगरेको बताउँदै उनले अहिले श्रीमानसँग सल्लाह गरेर ईम्प्लान्ट लगाएको बताइन्।
उनले भनिन्, ‘ईम्प्लान्ट लगाएकी छु, अब ५ बर्षका लागि ढुक्क छु।’ गाउँगाउँमा प्रयाप्त दक्ष जनशक्ति नहुदा तीन तीन महिनामा डिपो लगाउने र पिल्स खाने महिलाहरु अहिले ईम्प्लान्ट तिर आकर्षित भएका हुन्। एक पटक प्रयोग गरेपछि ५ वर्षसम्म गर्भ नरहने भएपछि जन्मान्तरलाई पनि यसले सहज बनाएको छ। तर, ईम्प्लान्ट प्रयोग गरेको श्रीमान वा परिवारका सदस्यले थाहा पाउने भएका कारण कतिपय महिलाहरु लुकेर अन्य साधन प्रयोग गर्ने गर्दछन्।
‘श्रीमानले परिवार नियोजनको साधन प्रयोग गर्न नदिने। चार वटा बच्चा भइसके। कति जन्माउनु। दिक्क लागेर लुकि लुकि डिपो लगाउछु।’ एक महिलाले भनिन्, ‘स्थाई गरौ भनेको घरकाले मान्दैनन्।’
जिल्लाका सबै स्वास्थ्य संस्थामा डीपो, पील्स, कण्डम पाइने भएपनि ईम्प्लान्ट र आईयुसीडी सेवा भने कतिपय स्वास्थ्य संस्थामा छैन। परिवार नियोजनका क्षेत्रमा काम गर्ने मेरी स्टोपले रोल्पाका बिभिन्न स्थानमा घुम्ती क्याम्प सञ्चालन गर्दै सेवा बिस्तार गराएको छ।
‘रोल्पाली महिलाहरुमा ईम्प्लान्टको आकर्षण बढ्दो छ। एक पटकको प्रयोगले ५ बर्षसम्म ढुक्क हुने भएपछि उनिहरुको रोजाई बनेको हो। अब त धेरैले परिवार नियोजनका बारेमा बुझेका पनि छन्। कतिपयलाई भने अझै परिवारले साधन प्रयोगको स्वीकृति दिने गरेका छैनन्,’ मेरी स्टोप रोल्पाकी प्रमुख गिता डागिले भनिन्, ‘बच्चा जन्माउछु भन्ने लाग्यो भने बिचमा झिक्न पनि सकिन्छ। त्यसैले पनि ईम्प्लान्टमा महिलाहरुको आकर्षण थपिएको हो।’
मेरी स्टोपले जिल्लाका दक्ष जनशक्ति नभएका स्थानमा समय समयमा सञ्चालन गर्ने शिबिरहरुमा ईम्प्लान्ट प्रयोगकर्ताको दर बढेको एक तथ्याङ्कले देखाएको छ। सन २०१७ मा ३ सय ९२ जनालाई ईम्प्लान्ट सेवा दिएको मेरी स्टोपले सन २०१८ को ३ महिना बाँकि रहदा ६ सय ६६ जनालाई उक्त सेवा दिइसकेको छ। डागि भन्छिन्, ‘पछिल्लो समय रोल्पामा परिवार नियोजनका साधन प्रयोगकर्ता बढेका छन्।’
जन्मान्तरका लागि मात्र नभएर बच्चा जन्माउन नचाहाने युवाहरुका बिच लोकप्रिय बनेको ईम्प्लान्ट र अन्य साधनहरुको प्रयोग अबिबाहितले पनि गर्ने गरेको पाइन्छ। जिल्ला स्वास्थ्य कार्यालय अन्र्तगतका एक स्वास्थ्यकर्मी भन्छिन्, ‘बजार तिर प्लस टु, क्याम्पस पढ्ने कतिपय अबिबाहित केटिहरु पनि डिपो लगाउन आउछन्। सायद कण्डमको प्रयोग झन्जट मानेर होला। तर यसो हुनु पनि गम्भिर छ। सामाजिक संरचना एकातिर छ भने अर्को तिर अबिबाहितका लागि योन रोगको सम्भाबना देखिन्छ।’
यति हुँदा हुँदै पनि रोल्पाका गाउँहरुमा आज पनि परिवार नियोजनका बारेमा प्रयाप्त जानकारी भएको पाइदैन। पुरानै सोचका अबिभाबक आज पनि गर्भनिरोधका साधन प्रयोगको बिरोधमा देखिन्छन्। तर युवाहरु भने प्रयाप्त प्रयोग र उपयोगमा रहेको देखिन्छ।
महिला
ईम्प्लान्ट