
सरकारले भक्तपुरमा नयाँ सम्मेलन केन्द्र बनाउने भएको छ। उक्त भवन बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) भन्दा अढाई गुणा ठूलो हुनेछ।
केहीदिनअघिको मन्त्रिपरिषद् बैठकले भक्तपुरस्थित नागरिक उड्डयन प्राधिकरणको जग्गामा सुविधासम्पन्न सम्मेलन केन्द्र बनाउने निर्णय गरेको हो।
यसअघि त्यहाँ प्रिफ्याब संरचनाको सम्मेलन केन्द्र बनाउने भन्दै सहरी विकास मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावमा मन्त्रिपरिषदले ठूलो र स्थायी सम्मेलन केन्द्र बनाउने निर्णय गरेर निर्देशन पठाएको मन्त्रालयका प्रवक्ता सहसचिव कृष्णप्रसाद दवाडीले जानकारी दिए।
मन्त्रालयले भारतको जी सिने अवार्डका लागि भन्दै प्रिफ्याव भवन बनाउने तयारी गरेको थियो। उक्त योजना परिवर्तन गरेर सुविधासम्पन्न भवन बनाउने निर्णयमा सरकार पुगेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेपालमा कुनै अन्तर्राष्ट्रिय सभासमारोह गर्न परे ठूलो हल नभएकाले ठूलो भवन बनाउन लागिएको सेतोपाटीलाई बताए।
संघीय संसद बसेको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २ हजार जनामात्र अटाउँछन्।
यो पनि पढ्नुस :
जी सिने अवार्ड गराउन ‘असमर्थ’ त्यो भवन
सरकारले पछिसम्म नेपाललाई चाहिनेगरी पाँच हजार क्षमताको स्थायी संरचनाको सम्मेलन केन्द्र बनाउने निर्णय गरेको रिमालले सेतोपाटीलाई जानकारी दिए।
‘हामीलाई पछिसम्म चाहिन्छ त्यसैले अहिले अल्पकालीनभन्दा स्थायी संरचनाकै बनाउने निष्कर्षमा पुगेका हौं,’ उनले भने।
१ सय ५४ रोपनी क्षेत्रमा फैलिएको आइसिसी ‘प्यागोडा’ शैलीको छ। भक्तपुरमा १८९ रोपनीमा सम्मेलन केन्द्र बन्न लागेको हो।
मन्त्रिपरिषद्को निर्णयसँगै सहरी विकास मन्त्रालयले सम्मेलन केन्द्र बनाउने तयारी थालेको छ। डिजाइन तथा लागत तय भएपछि भवन निर्माणको काम सुरू हुने मन्त्रालयका प्रवक्ता दवाडीले जानकारी दिए।
यसअघि भक्तपुरका स्थानीयले प्रिफ्याब भवनका लागि स्थानीय पूरातात्विक सम्पदा मास्न लागेको भन्दै विरोध गरेका थिए।
यो पनि पढ्नुस् :
‘हाम्रो सम्पदा मासेर बलिउडलाई रेड कार्पेट!’
प्रिफ्याब भवन नबन्ने भएपछि पहिलो पटक नेपालमा हुने भनिएको जी सिने अवार्ड अनिश्चित बनेको छ। किनकी प्रिफ्याव हल नबनाउने हो भने उक्त अवार्ड गर्न नेपालमा हल छैनन्।
अवार्डको नेपाल व्यवस्थापनको संयोजन गरिरहेका चलचित्रकर्मी दिनेश डिसीले आयोजकले अहिलेसम्म कुनै नयाँ जानकारी नदिएकाले अवार्ड हुने सम्भावना रहेको बताए।
‘यही साता अमर सिंह आउँदै हुनुहुन्छ, उहाँ आएपछि अवार्ड कार्यक्रम हुने/नहुने थाहा होला, अहिलेसम्म मलाई केही जानकारी छैन,’ डिसीले भने।
गत साउनमा उक्त अवार्ड नेपालमा हुने भनेपछि प्रधानमन्त्री ओलीले तयारी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयलगायत निकायलाई निर्देशन दिएका थिए। सोहीअनुसार तत्कालका लागि हल उपलब्ध गराउन प्रिफ्याब भवन भक्तपुरमा बनाउन सकिने भन्दै सहकारी विकास मन्त्रालयले काम सुरू गरेको थियो।