
कोरोना भाइरसको सन्त्रास बढिरहेका बेला मास्कमा कालोबजारी गर्ने पोखराका २ मेडिकलमा तालाबन्दी गरिएको छ । औषधी पसलहरुले दोब्बर, तेब्बर मूल्यमा मास्क बेचिरहेको गुनासोपछि बजार अनुगमन भएको थियो ।
गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा मास्कमा कालोबजारी गरेको भेटिएको हो । त्यस्ता २ मेडिकलमा अनुगमन टोलीले ताला लगाएको छ ।
महेन्द्रपुलस्थित स्याङ्जा औषधी पसल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अघिल्तिरको परी औषधी पसलमा ताला लगाएको छ ।
स्याङ्जा औषधी पसलले २ सय बजार मूल्य पर्ने ९५ अंकित मास्कलाई ४ सय ५० रुपैयाँसम्ममा बचेको फेला परेको थियो।
परी औषधि पसलले १० रुपैयाँ पर्ने साधारण मास्कलाई ३० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो।
दुबै औषधी पसलका सञ्चालकलाई ३ दिनभित्र जिल्ला प्रशासनमा हाजिर हुन टोलीले निर्देशन दिएको छ । कोरोनाको सन्त्रास र साबधानी अपनाउन सूचित भएपछि बजारमा मास्कको अभाव तथा कालोबजारी भइरहेको गुनासो आइरहेको छ ।
टोलीले बिहीबार उपभोक्तासहित पोखराका थुप्रै पसलमा अनुगमन गरेको थियो ।