
२२ कार्तिक, काठमाडौँ।
भूकम्पपीडितलाई राहत लिएर चिनियाँ जनमुक्ति सेनाका दुई जहाज पोखरा विमानस्थल ओर्लिएका छन् । जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि १ लाख ७९ हजार किलो राहत सामग्री बोकेर वाई-२० जहाज पोखरा आइपुगेका हुन् ।
चीनको छेङ्दुबाट आएका ती जहाज बिहान ९:३० र ९:४० मा अवतरण गरेका हुन् । ती जहाजका सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ ट्रकले रुकुम पश्चिम र नेपालगञ्ज पुर्याउने छ । विमानस्थलमा ती सामग्री बुझ्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र हस्तान्तरण गर्न चिनियाँ राजदूत छन् सोङ नेपाली सेनाको जहाजमार्फत पोखरा गइ सकेका छन् ।