729 views 12 secs 0 comments

फेसबुकबाट मात्र चुनावका नाममा दैनिक २० लाख विदेश पुग्छ

In देश, शिक्षा, समाज, सूचना-प्रबिधि
१४ मंसिर २०७४, बिहीबार १४:५९

प्रतिनिधि तथा प्रदेशसभा चुनावको रौनक सामाजिक सञ्जालमा व्यापक छाएको छ। पछिल्लो एक महिनामा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर तथा युट्युबमा राजनीतिक दलले करोडौँ खर्च गरिसकेका छन्। चुनावी प्रचारका लागि फेसबुक, ट्वीटर तथा युट्युबमार्फत प्रयोगकर्तालाई लक्ष्य गरी ‘बुस्ट’ गरिएका कतिपय पोस्टले नेपाली कराडौँ रकम खपत गरिसकेको सरोकारवालाको भनाइ छ।

कुनै समय यस्तो पनि थियो, चुनावी प्रचारका लागि बाजगाजासहित राजनीतिकर्मीका टोली गाउँ-गाउँमा पुग्थे। आफ्ना एजेन्डा माइक अथवा स्पिकरमा ठूलो आवाजमा घन्काइन्थ्यो र त्यसको प्रभावले चुनावमा उम्मेदवार आफूलाई बलियो बनाउँथे। तर, अब त्यो समयको अन्त्य भएको छ। मानिसको उपस्थिति आमसभा तथा भेलामा पातलो हुन थालेको छ। यस्तो अवस्थामा ठूलो जनसंख्या जोडिएको सामाजिक सञ्जालमा चुनावी प्रचार गर्नु स्वाभाविक पनि हो। त्यसैले त फेसबुक तथा ट्वीटर वालमा पछिल्लो समय कतिपय ‘स्पोन्सर’ लेखिएको चुनावी पोस्ट छाएका छन्। ती ‘स्पोन्सर’ लेखिएका सबै पोस्ट प्रयोगकर्तालक्षित छन्। यस्ता हजारौँ पोस्ट एक महिनाको अवधिमा प्रयोगकर्ताका फेसबुक तथा ट्वीटर वालमा कोरिएका छन्। यसका लागि विभिन्न राजनीतिक दलले नेपालबाट करोडौँ रुपैैयाँ बाहिर पठाइसकेका छन्।

‘फेसबुकमार्फत कुन पोस्ट कसलाई र कुन स्थानका मानिससम्म पुर्‍याउने हो, त्यो सम्भव छ,’ सफ्टनेपका कार्यकारी निर्देशक सुनील रिजालले भने, ‘त्यसले गर्दा पनि पार्टी अथवा उम्मेदवारले कतिपय कन्टेन्टलाई पैसा खर्च गरेर पनि बिकाइरहेका छन्। यसको अर्थ आफ्ना भोटरमाझ आफ्नो सन्देश प्रवाह गरिरहेका छन्। त्यसका लागि पछिल्लो एक महिनामा नेपालबाट फेसबुकमा पोस्ट-बुस्ट भनेर दलले करोडौँ खर्च गरिरहेको कम्प्युटर प्रोग्रामर टुरुप संग्रौलाले बताए। संग्रौलाका अनुसार उनको एकाउन्टमार्फत मात्रै अहिले विभिन्न राजनीतिक दलको प्रचारका लागि दैनिक दुई सय डलरको हाराहारीमा रकम बाहिर गइरहेको छ। ‘यो त फेसबुकमा मात्र हो,’ उनले भने, ‘ट्वीटर र युट्युबमा पनि सोही अनुसारले कन्टेन्ट बुस्ट गर्ने गरिएको छ।’

राजनीतिक दलले चुनावी प्रचारका निम्ति फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा करोडौँ रुपैयाँ खर्च गरिरहेका छन्।

डिजाइन, प्रस्तुति र लेखनशैलीले प्रयोगकर्तालाई आकर्षण गर्ने भएकाले कस्ता प्रयोगकर्तालाई कस्तो कन्टेन्ट पठाउनेसम्मको सेवा फेसबुक र ट्वीटरले दिएका छन्। ‘प्रचारका लागि फेसबुकमार्फत आफ्नो भाषण अथवा पोस्ट बुस्ट र पेज प्रमोसनका लागि बढी खर्च भएको छ,’ संग्रौलाले भने, ‘दल तथा उनीहरूका प्रतिनिधिले आफ्नो भाषणलाई ठूलो समूहमा पुर्‍याउन एउटा पोस्टको दैनिक तीन सय डलरसम्म खर्च गरेका छन्।’ उनका अनुसार साधारणतया एउटा पोस्ट बुस्ट गर्र्न पाँच डलर तिरेपछि ४५ सय देखि ३० हजार प्रयोगकर्तासम्म पुग्छ।

यो कन्टेन्ट बुस्टका लागि हो। पेज लाइकका लागि भने पाँच डलरमा थोरैमा ४ सय ७० देखि धेरैमा तीन हजारसम्म पुग्छ। ‘यहाँ त एउटा कन्टेन्ट बुस्टका लागि तीन सय डलरसम्म तिरेका छन्,’ संग्रौलाले भने, ‘मजस्तो सामान्य कम्प्युटर प्रोग्रामिङ गर्नेको खाताबाट दैनिक दुई सय डलरको हाराहारीमा बाहिर गइरहेको छ भने यसैलाई पेशा बनाएर काम गर्नेको एकाउन्टमार्फत कति पैसा बाहिर गएको होला ?’

संग्रौलाले नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताका कन्टेन्ट बुस्ट गर्ने काम गरेको बताए। ‘दैनिक १० देखि १५ वटाको हाराहाीमा कन्टेन्ट मेरोबाट फेसबुकमा पोस्ट भएको छ,’ उनले भने, ‘त्यही अनुसार ट्वीटरमा पनि पोस्ट भएको छ। यसलाई आधार मानेर हेर्न हो भने फेसबुकमार्फत दैनिक १५ देखि २० लाख रुपैयाँ बाहिरिरहेको छ।’

एफ-१ सफ्ट कम्पनीका कार्यकारी निर्देशक सुवास शर्माका अनुसार पोस्ट बुस्ट पार्टी आफैँले भन्दा पनि उम्मेदवारले बढी गरिरहेका छन्। उनका अनुसार एफ-१ सफ्टमार्फत हप्तामा एक हजार डलर बराबरको पोस्ट बुस्ट भइरहेको छ। ‘उम्मेदवार, त्यसमा पनि चिनेकाले मेरो पोस्ट बुस्ट गर्दिनू भनेर गर्दिएका छौँ,’ उनले भने, ‘त्यति गर्दा पनि हाम्रो एकाउन्टमार्फत हप्तामा एक हजार डलर यसैमा खर्च भइरहेको छ।’ यसरी पोस्ट बुस्ट गराउनेमा तीन शीर्ष दलका उम्मेदवारहरू भएको शर्माले बताए। ‘अहिले आएका नयाँ पार्टीसँग आईटी टोली भएकाले त्यो काम आफैँले गरिरहेका छन्,’ शर्माले भने, ‘विवेकशील साझा पार्टी र नयाँ शक्तिजस्ता पार्टीसँग आफ्नै आईटी टोली छ।’

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा डिजिटल मिडिया हेर्दै आएको अब्दुस मियाँले शर्मासँग सहमति जनाए। उनका अनुसार पार्टीले चुनावलाई भनेर ‘सार्थक अडियो भिजुअल सेन्टर’ लाई यो काम सुम्पिएको छ। सार्थकका कार्यकारी निर्देशक आयुष न्यौपानेका अनुसार विवेकशील साझा पार्टीले यो चुनावलाई लक्ष्य गरेर पहिलो पटक कात्तिक ११ गते पहिलो पोस्ट बुस्ट गरेको थियो। उनका अनुसार पार्टीको पेजमा अहिलेसम्म २३ वटा पोस्ट बुस्ट भइसकेको छ। ‘यो पार्टीले गरेको पोस्टको संख्या मात्र हो,’ उनले भने, ‘व्यक्तिगत रूपमा अझ बढी भएको हुनुपर्छ।’

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य अब्दुस मियाँका अनुसार पार्टीगत कुरालाई पार्टीले पैसा खर्च गरेर पोस्ट बुस्ट गर्ने काम गरिरहे पनि व्यक्तिगत उम्मेदवारको हकमा भने बाहिरी डोनरले सहयोग गरिरहेका छन्। ‘व्यक्तिगत उम्मेदवारलाई बाहिर रहेका आफ्ना शुभेच्छुकले पैसा खर्च गरेर पोस्ट बुस्ट गरिरहेका छन,’ उनले भने, ‘यसले गर्दा पनि पार्टीको कन्टेन्ट सबैभन्दा बढी सामाजिक सञ्जालमा देखिएको छ।’ यसले पार्टीलाई चुनावमा ठूलो सहयोग पुगेको उनको भनाइ छ।

एमालेले पनि सामाजिक सञ्जालमा आफ्नो पार्टीको प्रचारका लागि खर्च गरिरहेको स्रोतले जनाएको छ। वाम गठबन्धन भएसँगै पार्टीले त्यसको प्रचारका लागि सामाजिक सञ्जाल हेर्न मिडिया सेन्टर खोलेको बताइन्छ। उता, कांग्रेसले पनि फेसबुक पेजमा पोस्ट भएका आफ्ना कन्टेन्ट बिकाउन राम्रै लगानी गरिरहेको देखिन्छ। यतिसम्म कि ठूला पार्टीले त युट्युबमा समेत कन्टेन्ट बुस्ट गरेका छन्। युट्युबमा सबैभन्दा चलेको भिडियोमा केही सेकेन्ड पार्टीबारे जानकारीमूलक सन्देश राख्ने गरेको कम्प्युटर प्रोग्रामर टुरूप संग्रौलाले बताए। उनका अनुसार युट्युबमा फेसबुक र ट्वीटरमा जस्तो धेरै बुस्ट चाहिँ भएको छैन।