मंसिर १४, २०७४-एक वर्ष अगाडि नियुक्त उच्च अदालत ८० जना न्यायाधीश विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । सरकारी वकिलहरु सहित केही अधिवक्ताले दायर गरेको रिटहरु तीनजना न्यायाधीशको इजलासमा सुनुवाई भइरहेको हो । फरक ५ मुद्दा सुनुवाईको क्रममा छन् । न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा सुनुवाई भइरहेको छ ।
सरकारी निकायहरुलाई विपक्षी बनाई दायर गरिएका मुद्दाहरुको कानूनी प्रतिरक्षा गर्ने सरकारी वकिलहरु नै रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए । न्याय सेवा अन्तर्गतका सरकारी वकिल समूहका तीन विशिष्ट श्रेणीका अधिकारीहरु र एक सहसचिवले सर्वोच्च अदालतमा रिट हालेका थिए ।
उनीहरुले प्रधानन्यायाधीश, न्यायपरिषदका सदस्यहरु र विभिन्न उच्च अदालतमा नियुक्त भएका ८० जना न्यायाधीशहरुलाई विपक्षी बनाएका छन् । नायव महान्यायाधिवक्ताहरु दुर्गाबन्धु पोखरेल, बद्रीप्रसाद गौतम, बेपत्ता आयोगका सचिव राजनप्रसाद भट्टराई र सह–न्यायाधिवक्ता गणेशबन्धु अर्यालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।