
काठमाडौं जाने यात्रुलाई फूलको गुच्छा दिएर इटहरीवासीले राजधानी मागेको सन्देश राजधानी पु¥याइरहेका बेला एक टोलीले शीर्ष नेताहरूलाई भेटिरहेको थियो । भेटमा शीर्ष नेताहरू सबैजसोले घुमाउरो जवाफ दिएका थिए । ‘इटहरी नै राजधानी हुनुपर्छ वा हुन्छ भनेर कमैले भने’, इटहरीको प्रतिनिधि टोलीका सदस्य एवं कांग्रेस महासमिति सदस्य राजीव ढुंगानाले भने, ‘तर, इटहरीको पक्षमा रहेको घुमाउरो अभिव्यक्ति भने दिए ।’
एमाले अध्यक्ष ओलीले इटहरी फराकिलो ठाउँ भएकाले राजधानीका लागि उपयुक्त भएको अभिव्यक्ति इटहरी आएका बेला दिएका थिए । तर, उनले इटहरीको प्रतिनिधिमण्डलाई इटहरी नै प्रदेश राजधानी हुन्छ वा हुनुपर्छ भन्न सकेनन् । इटहरीलाई ‘नयाँ इटहरी’ बनाउनुपर्ने प्रतिक्रिया दिँदै उनले राजधानी बनाउनका लागि योग्य रहेको संकेत भने दिएको भेटमा सहभागीले बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुरानोभन्दा नयाँ सहर निर्माण गर्नुपर्ने बताएका थिए । दाहालले प्रदेश १ को पुरानो सहर भनेर विराटनगर र धनकुटालाई इंकित गर्न खोजेको ढुंगानाको अनुमान छ । ‘जुन सहर पहिलादेखि विकास भइसकेका छन्, त्यसभन्दा पनि इमर्जिङ सिटीलाई प्राथमिकता दिनुपर्छ’, दाहालको भनाइ उद्धृत गर्दै ढुंगानाले भने । इटहरी पनि इमर्जिङ सिटी हो भन्ने उनको आशय रहेको ढुंगानाले उल्लेख गरे ।
-एउटा समूह निस्किन नपाउँदै अर्को पक्ष भित्रिँदै
-शीर्ष नेता भेट्दा आश्वस्त हुन सकेनन् इटहरीवासी-देउवा, ओली र दाहाल इटहरीको पक्षमा खुलेनन्
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भने यो विषयमा सल्लाह गर्ने बताए । अर्थमन्त्री एवं सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्ञानेन्द्रबहादुर कार्कीले भने इटहरी नै राजधानी हुनुपर्ने आसय व्यक्त गरेको कार्कीले बताए ।
इटहरीको केही वडासमेत पर्ने क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपप्रधानमन्त्री विजयकुमार गच्छदारले इटहरीलाई राजधानी बनाउन पहल गर्ने बताएका छन् । काठमाडौं जानुअघि इटहरीको टोलीले गच्छदारलाई भेट गरेको थियो । ‘म यहीं निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने हुँदा पनि म इटहरीको पक्षमा छु भन्नुभएको छ’, ढुंगानाले भने ।
शीर्ष नेताहरूलाई भेटे पनि इटहरीवासी आश्वस्त हुन सकेका छैनन् । यो प्रदेशमा इटहरी, धरान, विराटनगर, गोठगाउँ, धनकुटावासीले आफ्नो ठाउँलाई प्रदेश राजधानी तोक्नुपर्ने माग गरिरहेका छन् । सुनसरी सदरमुकाम इनरुवावासीले पनि राजधानी दाबी गर्न थालेका छन् । इटहरीवासीले भने यातायातको सुगम, बसोबासका लागि खानेपानी, विद्युत्जस्ता पूर्वाधारका कारण उपयुक्त, धेरैजसो सरकारी कार्यालयको क्षेत्रीय कार्यालय रहेको, सेना तथा सशस्त्र प्रहरीजस्ता सुरक्षा निकायका प्रधान कार्यालय रहेको, पूर्वकै सबैभन्दा व्यवस्थित निर्माणाधीन रंगशाला रहेको इटहरी राजधानीका लागि उपयुक्त हुने जिकिर गरेका छन् ।
इटहरीमा प्रदेश राजधानीका लागि मन्त्रालय राख्न भवनसमेत पर्याप्त रहेको इटहरी राजधानी सरोकार समाजका सचिव शैलेश विष्टले बताए ।