
९ कात्तिक, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई बिहीबार नियन्त्रणमा लिइएको छ ।
धरानबाट रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया महपुरका ३५ वर्षीय दिलीप साहलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।
त्यसैगरीे इनरुवा–३ बाट रु एक लाख ५० हजार बराबरको र सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट रु ३ लाख बराबरको आठ बोरा पटका, झिरझिरे, आतीसबाजी बरामद गरिएकोे प्रहरी नायव उपरीक्षक फुँयालले जानकारी दिए । इनरुवाबाट रु १ लाख ५० हजार बराबरको चार बोरा र लौकहीबाट सोही परिणाम बराबरको विस्फोटक सामग्री बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।
कैदीबन्दीको मृत्यु
सुनसरीको भुम्का नगरपालिकामा रहेको क्षेत्रीय कारागारमा बिहीबार एक कैदीबन्दीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुर हडिया–८ का ३६ वर्षीय राधेश्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मुटुसम्बन्धी रोगबाट पीडित चौधरीलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।