755 views 0 secs 0 comments

डाक्टरले सोधे ‘सर्प कस्तो थियो ?’, ४ फिटको जिउँदो कोब्रा देखाएर भने ‘यस्तो थियो’

In देश, समाज
१० पुष २०७४, सोमबार १४:३५
bannerएजेन्सी। अस्पतालमा सर्पले टोकेको बिरामीलाई उपचार गर्न लिएर गएका व्यक्तिसँग डाक्टरले सर्पको बारेमा सोधेपछि ती व्यक्तिले सर्प यस्तो थियो भन्दै जिउँदो कोब्रा निकालेपछि हल्लाखल्ला भएको छ । यस्तो विचित्र घटना भारतको राजस्थान जोधपुरमा भएको हो ।

तेजाराम पटेल नामका यी व्यक्तिका दाजु ओखडराम पटेललाई शनिबार सर्पले टोकेको थियो । खेतमा बाम गर्दागर्दै ओगडरामलाई सर्पले टोकेपछि तेजारामले उनलाई लिएर अस्पताल गए । उपचार सुरु गर्ने बेला डाक्टर पंकज रायले तेजारामलाई सर्प कस्तो थियो भनेर सोधे । सर्पको प्रजाति थाहा भएमा सही औषधी प्रयोग गर्न सहज हुने भएकोले डाक्टरले यस्तो सोधेका थिए ।

डाक्टरले सोधेपछि तेजाराम त्यहाँबाट हिँडे । उनले पूरै खेतमा खोजतलास गरे तर अँध्यारो भएका कारण सर्प भेटिएन । भोलिपल्ट आइतबार बिहान पनि उनले सर्प खोज्ने प्रयास गरे र सर्प भेट्टाएपछि समातेर राखे । त्यसपछि उनी सर्पलाई एउटा बोरामा राखेर अस्पताल पुगे । डाक्टर रायकहाँ गएर उनले सर्प निकालेर देखाउँदै यस्तो थियो सर्प भनेर देखाए । उनले सर्प निकाल्नासाथ अस्पतालमा हंगामा मच्चियो । लगत्ते डाक्टरले सर्पलाई टाढा लगेर छाडिदिन आग्रह गरेपछि तेजारामले सर्पलाई जंगलमा लगेर छोडेका छन् ।