काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमामा नेपाली कांग्रेसको अप्रत्याशित पराजयपछि सभापति देउवाको विकल्प खोज्नुपर्ने आवाज उठिरहे पनि देउवाले भने आफैं पार्टीमाथि हावी हुने रणनीति बनाइरहेका छन्। यसका लागि उनी दोस्रो पुस्ताका नेताहरुलाई अल्मल्याउने र पार्टीभित्र आफ्नो पकड मजबुत बनाउने सुनियोजित कार्ययोजना कार्यान्वयन गर्दैछन्।
देउवा दोस्रो पुस्ताका नेताहरुलाई अल्मल्याउने र पार्टीभित्र आफ्नो पकड मजबुत बनाउने सुनियोजित कार्ययोजना कार्यान्वयन गर्दैछन्।
निर्वाचनमा पार्टीको पराजयपछि गगन थापा, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी लगायतका दोस्रो पुस्ताका नेताहरुले नेतृत्व परिवर्तन तथा विशेष महाधिवेशनको माग उठाइरहेका छन्। यो पुस्तालाई थन्क्याएर पार्टीमा आफैं हावी हुने सभापति देउवाको रणनीति छ। यसका लागि देउवा पछिल्लो समय गणेशमान पुत्र प्रकाशमान सिंह तथा बिपी पुत्र शशांक कोइरालाको बीचमा खेलिरहेका छन्।
सभापति देउवाले बिपी पुत्र शशांकलाई आफूपछिको उत्तराधिकारीको रुपमा प्रस्तुत गर्दै तत्कालका लागि आफैंलाई सभापतिमा समर्थन गर्न फकाएका छन्। कांग्रेसलाई यो हैसियतमा पु¥याउने बिपी भएकाले अबको कांग्रेस सभापति शशांकलाई नै बनाउने भन्दै देउवाले उनलाई फकाएको कांग्रेसभित्रकै नेता बताउँछन्। शशांक पनि अबको नेतृत्व आफैंले पाउने भएपछि देउवालाई समर्थन गर्न राजी भएका छन्।
दोस्रो पुस्ताका प्रभावशाली नेता शशांक र प्रकाशमान दुवैलाई भावी नेतृत्वको रुपमा आश्वस्त पारेर दुवैलाई महाधिवेशनको मागबाट पछि सार्ने देउवाको रणनीति छ।
अर्कोतर्फ देउवाले गणेशमानपुत्र प्रकाशमानलाई पनि यही भनेर फकाएका छन्। प्रकाशमाननिकट नेताका अनुसार सभापति देउवाले प्रकाशमानलाई पटक पटक फोन गरेर भेट्न बोलाएका छन्। देउवाले प्रकाशमानलाई तत्कालै कार्यवाहक सभापति दिने आश्वासन दिएर भेट्न बोलाइरहेका छन् तर प्रकाशमान गएका छैनन्। दोस्रो पुस्ताका प्रभावशाली नेता शशांक र प्रकाशमान दुवैलाई भावी नेतृत्वको रुपमा आश्वस्त पारेर दुवैलाई महाधिवेशनको मागबाट पछि सार्ने देउवाको रणनीति छ। यी दुई नेतालाई फकाउन सकिए गगन, विश्वप्रकाश, चन्द्र भण्डारीलगायतका नेतालाई यी दुईले नै रोक्ने देउवाको बुझाइ छ।
कांग्रेसभित्र देउवा पुस्ताका अर्का नेता रामचन्द्र पौडेल स्वयं निर्वाचनमा पराजित भएको र दोस्रो पुस्ताले उनको समेत विकल्प खोज्नुपर्ने आवाज उठाएकोले उनलाई मनाउन देउवालाई गाह्रो छैन। त्यसमाथि पौडेल आफ्नो राजनैतिक करिअरको अन्तिम अवस्थामा आइपुग्दा आफ्नो परिवारलाई स्थापित गराउन बढी लालायित छन्। धेरैजसो आफन्तलाई विभिन्न पदमा स्थापित गराइसकेका पौडेलको चिन्ता छोरा चिन्तनलाई राजनीतिमा स्थापित गराउनु हो। यसका लागि उनले सभापति देउवालाई फकाउनुपर्छ । देउवाको लागि पनि यो सुनौलो मौका हो। पौडेलपुत्र चिन्तनलाई कांग्रेस केन्द्रीय सदस्य बनाइदिए पौडेल पनि चुप लाग्ने देउवाको विश्वास छ ।
रामचन्द्र पौडेलपुत्र चिन्तनलाई कांग्रेस केन्द्रीय सदस्य बनाइदिए पौडेल पनि चुप लाग्ने देउवाको विश्वास छ ।
कांग्रेसमा देउवाका विश्वासपात्र बिमलेन्द्र निधिसहित प्रभावशाली नेता रामशरण महत लगायत दोस्रो पुस्ताका नेता पराजित भएका छन् । ती नेताहरुलाई राष्ट्रिय सभामा लैजाने र उनीहरुको विरोधको स्वर मत्थर पारी पार्टीभित्र आफैं हावी हुने दाउमा देउवा छन्। राष्ट्रियसभा निर्वाचन अध्यादेशको विषयमा अहिले बढिरहेको विवादको चुरो पनि यही हो। राष्ट्रिय सभामा सकेसम्म धेरै सांसद कांग्रेसबाट पार्न सकियो भने प्रतिनिधिसभामा पराजित यी नेतालाई राष्ट्रिय सभामा स्थापित गराउन देउवालाई बाटो खुल्नेछ। यसैका लागि देउवा अध्यादेश जसरी पनि पारित गराउन लागिपरेका छन्।
प्रतिनिधिसभामा पराजित नेतालाई राष्ट्रिय सभामा स्थापित गराउनका लागि देउवा अध्यादेश जसरी पनि पारित गराउन लागिपरेका छन्।
देउवालाई सभापति पदमा स्थापित गराउन प्रतिनिधिसभाको समानुपातिक परिणामले पनि सघाएको छ । प्रतिनिधिसभातर्फ कांग्रेसका २३ मात्रै सांसद निर्वाचित छन् । तीमध्येका स्वयं देउवासहित केही देउवापक्षका नेता पनि छन् । उता समानुपातिकतर्फ भने कांग्रेसले ४० सिट पाएको छ। कांग्रेसको समानुपातिक बन्दसूचीको प्राथमिकताक्रममा अगाडि धेरै देउवा पक्षकै नेता छन्। समानुपातिक सांसद छान्दा सकेसम्म प्राथमिकताक्रम अनुसार छान्नुपर्ने भनिएकोले यहाँ देउवा पक्ष हावी हुने निश्चित छ। प्रतिनिधिसभामा आफ्नो पक्षका सांसदको बहुमत हुनासाथ देउवा यहाँ पनि हावी हुनेछन्।
दोस्रो पुस्ताको अर्कै योजना
कांग्रेसलाई आफ्नो कब्जामै राख्न जसरी सभापति देउवाले रणनीति बनाएका छन्। यसैगरी दोस्रो पुस्ता पनि नेतृत्व हत्याउने योजनामा छ। यो टिमको नेतृत्व प्रकाशमान सिंहले गरिरहेका छन्। यही कारण प्रकाशमान देउवाले पटक पटक बोलाउँदा पनि उनलाई भेट्न गएका छैनन्। प्रकाशमान तत्कालका लागि दोस्रो हैसियतमा बस्न तयार छन्। यसका लागि उनी शशांकलाई नेतृत्व दिन तयार छन्।
प्रकाशमानले बीपी र गणेशमानको जस्तै सहकार्य आफूहरु २ जनाले गरेर अगाडि बढ्ने प्रस्ताव शशांकसँग राख्ने तयारीमा छन् ।
कांग्रेसमा तत्कालीन समयमा गणेशमान बिना बीपी अपूर्ण थिए। यी दुईको साझा प्रयासले कांग्रेस यो हैसियतसम्म आइपुगेको हो। प्रकाशमान र शशांक तिनै दुई नेताका सन्तान हुन्। प्रकाशमानले बीपी र गणेशमानको जस्तै सहकार्य आफूहरु २ जनाले गरेर अगाडि बढ्ने प्रस्ताव शशांकसँग राख्ने तयारीमा छन् । अहिलेको लागि शशांकपछि दोस्रो हैसियतमा आफू रहने र शशांकपछि आफू नेतृत्वमा जाने प्रकाशमानको तयारी छ। यसको लागि उनले शशांकलाई एक कार्यकालपछि नेतृत्व आफूलाई हस्तान्तरण गर्न मनाउने तयारी गरेका छन्।