पर्सा। पर्साको वीरगन्ज महानगरपालिकाभित्र रहेको सुपर ग्यास उद्योगमा हिजो बिहानको समयमा भीषण आगलागी भएको छ। उक्त सुपर ग्यास उद्योगको आगो ९ घण्टा पछि मात्र नियन्त्रणमा आएको हो।
उद्योगमा बुधबार बिहान ६ बजेदेखि ग्यास भण्डारण टइंकीबाट ग्यास लिक भई आगलागी शुरू भएको थियो। आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाबाट परिचालित दमकल पनि जलेर ध्वस्त भएको छ। घटनामा परी महानगरपालिकाका आग्नि नियन्त्रक मधुसूदन मिश्र र यादवप्रसाद अधिकारीको मृत्यु भएको छ।
दमकलसहित आगो निभाउन सुपर ग्यासको मूल ढोकामा पुगेर पानी निकाल्ने क्रममा अचानक ग्यासको एउटा प्लान्ट नै विस्फोट भएपछि उनीहरूको घटनास्थलमा नै जलेर ज्यान गएको वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले बताए। घटनामा परी गम्भीर घाइते कामदार अमिका पटेल र सुरक्षा गार्ड सन्दीप नेपाललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
विश्वकर्मा सिमेन्ट उद्योगनजिकै रहेको प्लान्टभित्र रहेका सबै ग्यास बुलेट जलेर नष्ट भएका छन्। ग्यास बुलेटबाट प्लान्टमा सार्ने क्रममा लिक भई आगलागी भएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक शान्तिकुमार कार्कीले बताए ।
उद्योगमा जडान गरिएका तीनवटा बुलेटमा आगो लाग्ने र त्यो पड्किने आशंकामा स्थानीय प्रशासनले उद्योग नजिकका बासिन्दालाई सुरक्षित स्थानमा जान अपिल गर्यो । उद्योगमा आगलागी हुँदा साना ग्यास सिलिण्डरहरु पड्केको आवाज टाढासम्म आइरहेको थियो । सुरक्षाकर्मीले १ किलोमिटर अगाडि नै इटियाही पोखरी नजिकबाट कसैलाई जान दिएको थिएन् ।
फेरि पनि कुनै बेला आगलागी हुन सक्ने त्रास स्थानीयहरूमा रहेको छ। आगो नियन्त्रणका लागि खास प्रविधि नभएका कारण समयमा आगो नियन्त्रणमा लिन कठिनाइ परेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रताप सिंहले जनाए।
७ वर्षअघि स्थापना भएको उद्योग अवुलेश अन्सारीको हो। अवुलेश वीरगन्ज हेल्थ केयर हस्पिटलका सञ्चालक पनि हुनुहुन्छ। आगलागीबाट आफ्नो सर्वश्व गुमेको अन्सारीले बताए ।
वीरगंज महानगरपालिका, क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तव, तवरेज अहमद, मुकेश द्विवेदी, शशि कपूर मिया, अजय साह, नेपाली कांग्रेसका नेताहरु अनिल रुङटा, अजयकुमार चौरसिया, रामनारायण कुर्मी, ओमप्रकाश शर्मालगायतको टोलीले राहत सामग्री वितरण गरेका छन् ।