
जनकपुरधाम : शंकास्पद अवस्थामा भएको दुर्घटनामा एक युवकको ज्यान गएपछि जनकपुरमा अहिले यो राजनीतिक विवादको विषय बनेको छ। मंसिर २५ गते राति जनकपुरको वकिल टोलमा मोटरसाईकल दुर्घटनामा परि जनकपुर १६ का २५ वर्षिय रवि कुमार साहको मृत्यु भएको थियो भने जनकपुर १ का २४ वर्षिय दिपक महतो गम्भिर घाईते भएका थिए। घाईते महतोको अहिले उपचार धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।
घटना हुँदा प्रहरीले यसलाई मोटरसाईकल दुर्घटना भएको हुन सक्ने अनुमान गरेपनि पछि घाईते महतोले आफूलाई केही युवाले कुटपिट गरेको बयान दिएपछि घटनाले राजनीतिक रुप लिएको हो। घाईते महतोले भानु चोकमा आफूहरुलाई तीनजना युवाले निर्घात कुटपिट गरेको र सोही क्रममा रविको मृत्यु भएको बयान दिएका छन्। महतोले राजपा नेपालका कार्यकर्ताको नाम लिएपछि नेपाली काग्रेसका नेताले यसलाई राजनीतिक मोड दिएका छन्।
कांग्रेसका नेताले मृतक र घाईते आफ्नो पार्टीको कार्यकर्ता रहेको बताउँदै नाम पोलिएका राजपा कार्यकर्तालाई समात्न प्रहरीमाथि दबाव दिएको छ। घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री विमलेन्द्र निधि गत विहिबार प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पुगेर घटनाको छानबिन गरि पिडितले नाम भनेका युवालाई सिघ्र पक्राउ गर्न भनेका थिए। नेता निधिले काँग्रेस धनुषामा पराजित हुँदैमा कांग्रेसमा आवद्ध नेता कार्यकर्तालाई कसैले आक्रमण गर्ने वा डराउने काम गर्छ भने आफूलाई मान्य नहुने बताएका छन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईले घटना बारे अनुसन्धान भईरहेको र सत्यतथ्य चांडै बाहिर आउने बताएका छन्। घाईते महतोले नाम लिएका तीन जना बारे सत्यतथ्य बुझ्न आईतबारबाट पोलिग्राफ टेस्ट सुरु गरेको छ। घाईते महतोको चिकित्सकको निर्देशनमा पोलिग्राफ गरिने छ। अभियुक्तले सहि वा झुठ बोलेको टेस्टबाट आउने नतिजाको आधारमा अगाडीको अनुसन्धान प्रक्रिया चाल्ने धनुषाका प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले बताए।
‘हामीले यस घटनालाई हत्या र दुर्घटना दुवै पाटोबाट अनुसन्धान गरिराखेका छौं’, उनले भने। घटना निकै गम्भीर भएकाले सर्वसाधारणको चासो हुनु स्वभाविक रहेको सिंहको भनाइ छ। पिडितका परिवारले भने आफ्नो छोरा कुनै पनि पार्टीसंग आबद्ध नरहेको स्पस्ट पारेका छन्।