मंसिर २४, २०७४-प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन शान्त र सफलतापूर्वक सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघले नेपाली जनतालाई बधाई दिएको छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएको पर्सिपल्ट महासचिव एन्टोनीओ गुटेरसले शनिबार वक्तव्य जारी गर्दै सम्पन्न निर्वाचनप्रति खुसी व्यक्त गरेका हुन् । उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा सबै पक्षलाई बधाई दिँदै यो सद्भाव कायम राख्न आग्रहसमेत गरेका छन् । निर्वाचनमा जसरी दलहरूले एकअर्कामा शान्त, सक्रिय र सद्भाव देखाए, त्यही सद्भाव आगामी दिनमा हुने निर्वाचनमा समेत राख्ने आशा राष्ट्रसंघले गरेको पनि गुटेरसको वक्तव्यमा उल्लेख छ । २०७२ असोजमा जारी संविधानले तय गरेको नयाँ संघीय ढाँचालाई कार्यान्वयनमा लैजान यो निर्वाचन एक ऐतिहासिक पलको रूपमा रहनेसमेत महासचिवले उल्लेख गरेका छन् ।
ईयूले निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन नै सार्वजनिक गरेको थियो । प्रतिवेदनमा छोटो समयमा निर्वाचनसम्बन्धी बन्दोबस्त राम्रो र सबल बनाएकामा निर्वाचन आयोग र जनताको उत्साहको प्रशंसा गरिएको छ । दुवै पर्यवेक्षकले मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई मताधिकार नदिनु बुद्धिमानी नभएको बताउँदै आउँदा दिनमा यसमा सुधार हुने अपेक्षा गरेका छन् । मतदाता शिक्षा प्रभावकारी नभएको उनीहरूको निष्कर्ष छ । कार्टर सेन्टरका तर्फबाट पर्यवेक्षणको नेतृत्व थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री सुराकियार्त साथिरथाईले र ईयूका तर्फबाट जेल्जना जोभ्कोले गरेका थिए ।
http://kantipur.ekantipur.com/news/2017-12-10/20171210062859.html