607 views 5 secs 0 comments

डोल्पामा वाम गठबन्धन भारी मतान्तरले विजयी

In देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार ११:५०

मंसिर २३, २०७४-मंसिर २१ गते राति साढे नौ बजेबाट सुरु भएको मतगणना कार्य प्रत्यक्षतर्फको गणना शुक्रबार राति नै सकिएको छ । मतगणना परिणामअनुसार डोल्पाका सबै पदमा वाम गठबन्धनले भारी मतान्तरले विजय हासिल गरेको छ ।

शुक्रबार राति अबेर घोषित परिणामअनुसार डोल्पाका प्रतिनिधिसभा र प्रदेशसभाका दुवै गरी ३ वटै सिटमा भारी मतान्तरका साथ विजयी भएका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा एमालेका धनबहादुर बुढाले खसेको मत १५ हजार ८ सय १२ को ७४ प्रतिशत मत प्राप्त गरी विजय हात पारेका छन् । प्रदेशसभा ‘क’मा एमालेका नन्दसिंह बुढाले खसेको मत ६ हजार ७ सय ८८ को ८१ प्रतिशत र प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका वीरबहादुर शाहीले खसेको मत ९ हजार २६ मतको ७१ प्रतिशत मत प्राप्त गरी तीनै जनाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारहरुलाई ३ गुणाभन्दा बढीको भारी मतान्तरले हराउँदै विजय भएका छन् ।

 

प्रतिनिधिसभामा नेकपा एमालेका धनबहादुर बुढाले ११ हजार ७ सय ६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अंगदकुमार बुढाले ३ हजार १ सय ६७ मत प्राप्त गरेका छन् । यो मत करिब ४ गुणाले बढी हुन आउँछ । तीनवटा उम्मेदवार एकातिर एमालेका धनबहादुर बुढा अर्कोतिर गर्दा पनि ४ गुणाले मतान्तरले विजयी भएका हुन् । नेकपा(माले)का हर्कबहादुर ठकुल्लाले २ सय ९९ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुनबहादुर शाहीले २१ मत पाएका थिए ।

प्रदेशसभा क मा नेकपा एमालेका नन्दसिंह बुढाले ५ हजार ४ सय ९० मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वेगमसिंह ठकुरीले १ हजार २ सय १३ मत प्राप्त गरेका थिए यो मतान्तर ४ गुणा भन्दा बढी हो ।

त्यसैगरी प्रदेशसभा ख मा पनि वाम गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका वीरबहादुर शाहीले ६ हजार ४ सय १४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेशबहादुर शाहीले २ हजार १ सय ५ मत प्राप्त गरेका छन् । उनको मतान्तर ३ गुणा भन्दा बढी रहेको छ । प्रतिद्वन्द्वीहरुमध्ये नयाँ शक्ति नेपाल पार्टीका पुष्पराज बुढाले १ सय ४० मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार जयबहादुर डसालले ९० मत प्राप्त गरेका छन् ।

मंसिर १० मा भएको मतदानको मतगणना गत बिहीबार साँझ ९:२५ बजेदेखि मतगणना सुरु भएको थियो । अन्तिम परिणामबमोजिम डोल्पा प्रदेश क र प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका उम्मेदवारहरु र प्रदेश ख मा गठबन्धनकै माओवादी केन्द्रका उम्मेदवार भारी मततान्तरका साथ विजय भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा विजय हुने धनबहादुर बुढा २०६२, ०६३ मा तत्कालीन राजा ज्ञानेन्द्रविक्रम शाहद्वारा जिल्ला विकास समिति मनोनित सभापति हुन् ।

लामो समयदेखि राप्रपामा आफ्ना दाजु कर्णबहादुर बुढालाई सघाउँदै राजनीतिमा सक्रिय धनबहादुर बुढा २०७० मा एमाले प्रवेश गरी संविधानसभाको निर्वाचन २०७० मा एमालेबाट टिकट पाई ६ हजार ९ सय मत एवम् ५४ प्रतिशत मतका साथ निर्वाचित भएका थिए । पूर्वसांसद बुढा आर्थिक रुपमा मजबुत नेता हुन् । उनले आफ्नो आर्थिक समृद्धि ठेक्कापट्टाबाट गरेका हुन् । बहुदलीय व्यवस्था पुन:स्थापना २०४७ पछि डोल्पामा सांसद् पद दोहोऱ्याएर जित्ने उनी पहिलो व्यक्ति पनि बनेका छन् ।

प्रदेश क मा विजय हुने नन्दसिंह बुढा नेकपा(एमाले) डोल्पाका वर्तमान सचिव पनि हुन् ।

प्रदेशसभा ख मा विजय भएका वीरबहादुर शाही लामो समयदेखि माओवादी पार्टी सदस्य रहेको भए पनि सक्रिय नेताको रुपमा भने परिचय थिएन ।

प्रत्यक्ष तर्फको मतगणना सकिएर वाम गठबन्धनले डोल्पाका सबै पदमा विजय हात पारेको छ । प्रत्यक्षतर्फ सबै पदमा विजय पाएको वाम गठबन्धनले शनिबार विजय ऱ्यालीसहित विजयसभा गर्ने बताइएको छ ।

हेर्नुहोस् परिणाम 

प्रतिनिधिसभामा एमाले विजयीका धनबहादुर बुढा ११७६१ मत प्राप्त

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अंगदकुमार बुढा ३१६७

प्रदेश क मा

एमालेका नन्दसिंह बुढा ५४९० मतले विजयी

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वेगमसिंह ठकुरी १२१३

प्रदेश ख मा

माओवादी केन्द्र वीरबहादुर शाही ६४१४ ले विजयी

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुरेशबहादुर शाही २१०५

http://bit.ly/2AGIt7S