584 views 3 secs 0 comments

खगराज भट्टलाई ताकेर बम प्रहार

In देश, राजनीति, समाज
१९ मंसिर २०७४, मंगलवार १०:२७

मंसिर १९, २०७४-वाम गठवन्धनका उम्मेदवार खगराज भट्टलाई लक्षित गरेर गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार  जोगबुढाको चुनावी सभालाई सम्बोधन गरेर फर्कँदै गर्दा आलिताल गाउँपालिका-८ मौरिया भन्ने स्थानमा अज्ञात समूहबाट  बम विस्फोटन गराइएको हो ।

‘उम्मेदवारको गाडी बालबाल बच्यो,’ प्रचार समितिका संयोजक गजेन्द्र शाहीले भने, ‘उम्मेदवारको गाडी पुग्न केही सेकन्ड पहिले पड्कियो ।’

उनका अनुसार अन्तिम दिनको चुनावी प्रचार सकेर लस्करै आउँदै गरेका तीन गाडी मध्ये अन्तिम गाडीमा उम्मेदवार थिए । पहिलो गाडी क्रस भएपछि बम पड्किएको थियो । ‘पहिलो गाडीमा म आफैं थिएँ । दोस्रो र तस्रो गाडी केही मिटरको दुरीमा थिए,’शाही भने,‘तर मानवीय र  गाडीमा पनि त्यस्तो कुनै क्षति भएन ।’

यसअघि हिजै वाम गठवन्धनका नेता भीम रावल र जनार्दन शर्माले सम्बोधन गरेको जोगबुढाको चुनावी सभास्थलमा समेत प्रेसरकुकुर बम फेला परेको थियो ।

आमसभा सुरु हुन पहिले प्रहरीले प्रेसर कुकुर बम भएको पत्ता लगाएका थिए । जोगबुढास्थित नेपाली सेनाको टुकडीले निस्क्रिय पारेका थिए । आमसभाबाट केही किलोमिटर दुरीको जंगलमा लगेर सेनाले निस्क्रिय पारेको थियो ।

चुनावी प्रचारको अन्तिम दिन नक्कली तुल बमहरु समेत  जिल्लाको भित्री मधेस क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ । तर जिल्ला प्रहरी प्रमुख चक्रराज जोशी दुई चार जनाले दुई चार घटना जनतालाई तर्साउन गराउने प्रयास गरेको भएपनि जिल्लाको समग्र सुरक्षा व्यवस्था कडा पारिएको र शान्तिपूर्ण रहेको बताए ।

http://bit.ly/2jg6bAm