558 views 4 secs 0 comments

मौन अवधिमा कमैया बस्तीमा नजर

In देश, समाज
१९ मंसिर २०७४, मंगलवार १०:२८

मंसिर १९, २०७४-चुनाव प्रचारप्रचारको अन्तिम दिन सोमबार उम्मेदवारहरू दिनभरजसो सभा र र्‍यालीमा व्यस्त भए । मौन अवधि सुरुसँगै उनीहरूले ‘भोटबैंक’ मा नजर लगाएका छन् । उम्मेदवारका सहयोगीहरू बाँके र बर्दियाका सबैभन्दा ठूला भोटबैंक मुक्त कमैया बस्तीहरूमा छिरिसकेका छन् ।

चुनावको अघिल्लो रातसम्म ती सहयोगीहरू मुक्त कमैया बस्तीहरूमा सक्रिय हुन्छन् । केही बस्तीकै अगुवा छन् । उनीहरूको काम जग्गा दिने उम्मेदवारको आश्वासनदेखि ‘खानपिन’ को व्यवस्था मिलाउनेसम्म हुन्छ । घर–घरमा रक्सी र मासु पुग्छ । ‘एउटा नेता आएर जग्गा दिन्छु भन्छ । अर्कोले पनि त्यही दोहोर्‍याएर जान्छ । यस्तो आश्वासनले कमैयाहरू दोधारमा पर्छन्,’ कमैया परिवारकी संगीता चौधरी भन्छिन्, ‘जाँडरक्सी र पैसामा भोट लिन खोज्छन् ।’ प्रचारप्रसार सकिएपछि कमैया बस्तीमा नेताहरू अनेक प्रलोभन देखाउन आउने गरेको उनी बताउँछिन् ।मुक्त कमैया बस्तीको भोट अस्थिर हुने भएकाले नतिजा तल–माथि पार्न सक्छ । जसले ती बस्तीको राम्रो भोट पाउँछ उसले जित्ने सम्भावना अत्यधिक रहन्छ । त्यसैले उम्मेदवारको ध्यान कमैया बस्तीले सधैं तान्ने गरेको हो । बर्दियाका माछागढ, बैदीगाउँ हुँदै कालिकासम्म फैलिएको लम्की फाँटमा मुक्त कमैयाका आधा दर्जन धेरै बस्ती छन् । प्रतिनिधिसभा क्षेत्र १ मा पर्ने उक्त फाँटमा जनतानगर, टेसनपुर, शक्तिपुर, विजयनगर, माछागढ र नयाँबस्ती पर्छन् । त्यस्तै, प्रतिनिधिसभा क्षेत्र २ अन्तर्गत पर्ने संघर्षनगर, छेडिया, शान्तिपुर र खैरीलगायत कमैया फाँटमा पनि त्यस्तै दृश्य देखिएको छ । चुनावसँगै कमैया बस्तीमा भित्रभित्रै ‘भोटका लागि भोज’ चलिरहेका छन् । ‘कमैया परिवार पढ्न–लेख्न जान्दैनन् । एउटा भोटले के गर्छ भन्ने थाहा छैन । रक्सी–मासु दिनेलाई भोट दिने चलन छ,’ राजापुर चैनपुरकी मुक्त कमैया विष्णी चौधरीले भनिन््, ‘गाउँमा भोजभतेर फेरि सुरु भइसकेको छ । उम्मेदवारले सोझा कमैयाको भोट मासु र रक्सीमा किन्ने रणनीति बनाएका छन् ।’

गरिबी, अशिक्षा र बेरोजगारी मुक्त कमैयाका साझा मुद्दा हुन् । सयांै परिवार अझै राम्रोसँग पुन:स्थापित हुन सकेका छैनन् । गासबासको समस्या उस्तै छ । त्यसैले हरेक चुनावमा उनीहरू मीठा आश्वासन सुन्छन् र विभिन्न प्रलोभनमा परेर भोट हाल्ने प्रवृत्ति देखिएको छ । मुक्त कमैयाको भोट पाउन ५ कट्ठा जग्गा, मुक्त कम्लरीलाई परिचयपत्र दिएर पुन:स्थापनाका लागि ५ लाख रुपैयाँ, घर निर्माणका लागि काठ उपलब्ध गराउनेसम्मका आश्वासन दिइरहेका छन् । बर्दियामा १६ हजार २ सय ६२ घरधुरी मुक्त कमैया रहेको कमैया जागरण केन्द्रले जनाएको छ । तर भूमिसुधार कार्यालय बर्दियामा ११ हजार २ सय ६२ मुक्त कमैया परिवारको तथ्यांक छ । यो हिसाबले औसतमा एक परिवारमा ५ भोट मान्ने हो बर्दियामा ८० हजारभन्दा बढी मुक्त कमैयाको भोट छ । त्यसैले कमैया परिवारको मत हरेक चुनावमा निर्णायक बन्ने गरेको छ ।

परिणामको छिनोफानो गर्ने यो भोटलाई दलहरू आफ्नो पक्षमा पार्न हरसम्भव प्रयासमा जुटेका छन् । त्यसैले मौन अवधिसँगै कमैया बस्तीमा रात्रिकालीन राजनीतिक गतिविधि बढेको छ । ‘पहिलेको चुनावमा गाउँभर रक्सी र मासु खुवाइन्थ्यो । पहिलेभन्दा अहिले केही परिवर्तन भएर गुपचुप भइरहेको छ,’ लम्कीफाँट जनतानगरका युवा वीरबहादुर चौधरीले भने, ‘यसपटक भोट किन–बेच हुन नदिन युवाहरूले निगरानी बढाएका छौं । रक्सी र मासुमा भोट नदिन समुदायलाई पनि सचेत गराइ रहेका छौं ।’

बाँकेको कोहलपुरस्थित लोकनगर, राप्ती सोनारी गाउँपालिकाअन्तर्गत पर्ने कमैयाडाँडा, फत्तेपुरलगायत बस्तीमा पनि सपना बाँड्न थालिएको छ । मुक्तिपछि जिल्लाका विभिन्न स्थानका कमैयालाई कोहलपुरमा राखिएको छ । यहाँ ५ सयभन्दा बढी कमैया परिवारको बसोबास छ । यहाँका कमैया परिवारको मुख्य पेसा ज्याला मजदुरी हो । फत्तेपुरमा रहेको गाउँको नाम नै कमैया डाँडा राखिएको छ । यहाँ १ सय ५ कमैया परिवारको बसोबास छ । भोट बैंकका रूपमा रहेका यी गाउँ पनि नेताहरूको नजरमा परेका छन् । ‘नेताहरू हरेक दिन गाउँ आउँछन् । विभिन्न आश्वासन दिइरहेका छन् । अचेल रातिमा पनि कुराकानी गर्न आउँछन्,’ फत्तेपुरकी माया चौधरीले भनिन्, ‘चुनावको अन्तिम समयमा खानपिन गराउने चलन पुरानै हो । पार्टी–पार्टीको लडाइँ हुने डरले केही कम भएको छ तर रोकिएको छैन ।’

जिल्ला भूमिसुधार कार्यालय बाँकेका २ हजार २ सय ६७ मुक्त कमैया परिवार छन् ।

http://kantipur.ekantipur.com/news/2017-12-05/20171205063124.html